३ मंसिर २०७८, शुक्रबार
  • दान बहादुर बुढा,

मुगु । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितहरुलाई ‘छायाँ नेपाल’ संस्थाले खाद्यान्न राहत वितरण गरेको छ । आगलागीपछि घरबार विहीन बनेका पीडितहरुलाई छायाँ नेपालले प्रतिघर २५ केजी चामल, १–१ केजी नुन, दाल तथा बेसार, तेललगायत ८ प्रकारका खाद्यान्न वितरण गरेको हो ।

छाया नेपाल मुगुका प्रमुख मिन बहादुर रावलका अनुसार तत्कालका लागि प्रतिघर ३ हजार २०८ रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो । गत कात्तिक २९ गते राति आगलागी हुँदा गमगढीको तल्लो बजारका २५ घर पूर्ण रुपमा खरानी भएको थियो, भने ८० जना स्थानीयहरु विचल्ली बनेका छन् ।

‘आगलागी हुँदा बाजे–बराजुको पालादेखिको सबै सम्पति खरानी भयो । खाने गास, बस्ने बास छैन । अब कसरी बाँच्ने होला भगवान’, आगलागी पीडित ठिल्य लामा भन्छन्, ‘पाएको राहत सामग्री राख्ने ठाउँसम्म छैन ।’ राहत उपलब्ध गराउने सबै संघ संस्थाहरुलाई उनले धन्वाद दिए ।

मुगु उद्योग वाणिज्य संघ र छायानाथ बचत तथा ऋण सहकारी संस्थाले गमगढीका अन्य घर तथा होटलहरुमा अहिले तत्कालको लागि आगलागी पीडितहरुको बासको ब्यवस्था गरिदिएको छ । उक्त आगलागीबाट ३५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रजिअ रोम बहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV