२ मंसिर २०७८, बिहीबार

काठमाडौं । बिहीबार काठमाडौं आएका भारतीय योग गुरु एवं पतञ्जली योगपिठका सञ्चालक स्वामी बाबा रामदेव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

प्रचण्डको निजी सचिवालय सचिव गंगा दाहालले बाबा रामदेवले खुमलटारमा अध्यक्ष प्रचण्ड र पत्नी सीतालाई भेटेर स्वास्थ्य लाभको कामना गरेको जानकारी दिएका छन् ।

प्रचण्डकी छोरीसमेत रहेकी गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएकी हुन् । उनले फेसबुकमाम लेखेकी छिन्, ‘भारतीय योग गुरु एवं पतंजलि योगपिठका संचालक स्वामी बाबा रामदेव एवं आचार्य बालकृष्ण द्वारा आज खुमलटार निवासमा अध्यक्ष कमरेड प्रचण्डसँग भेट गर्नुभएको छ । यसै क्रममा उहाँहरुले आमा सीता दाहाललाई भेटी स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ।’

स्रोतका अनुसार भारतबाट काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रिएपछि बाबा रामदेव र सहकर्मी आचार्य बालकृष्ण सिधै प्रचण्ड निवास पुगेका थिए। उनीहरू मंसिर ५ गतेसम्म काठमाडौंमा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV