२ मंसिर २०७८, बिहीबार

काठमाडौं । सरकारले रेबिजविरुद्ध लगाइने रेबिजको इम्युनोग्लोबुलिनको सेवा सातै प्रदेशबाट सुरु गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सममेलन गर्दै मंसिर ५ गतेबाट मुलुकका सातै प्रदेशबाट उक्त सेवा प्रदान गर्ने जनाएको हो । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाटमात्र रेविजको इम्युनोग्लोबुलिन प्रदान गरिदै आएको थियो ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

मन्त्रालयका अनुसार प्रदेश १ को कोशी अस्पताल, प्रदेश २ को जनकपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्ज, बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौड, भरतपुर अस्पताल चितवनबाट उक्त सेवा प्रदान गरिने छ ।

त्यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा लुम्बिनी अस्पताल, कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालबाट रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह हुने मन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै अन्य अस्पतालबाट पनि सेवा विस्तार गर्ने योजना गरेको उनले बाए ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा रेविजका कारण १५ देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको जानकारी दिए ।

रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुईको माध्यमले लगाइने उक्त औषधीले ७ देखि १० दिनभित्र मात्र शरीरले एन्टिबडी बनाउन थाल्ने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV