१ मंसिर २०७८, बुधबार
  • दान बहादुर बुढा,

मुगु । जिल्लाको सदरमुकाम गमगढीस्थित तल्लो बजारका आगलागी पीडितहरुले राहत सामग्री राख्ने ठाउँसमेत नभएको गुनासो गरेका छन् । आगलागी पीडितहरुले बुधबार गैर खाध्य सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत गमगढी पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र भूमि ब्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्र बहादुर शाहीसँग यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘कसैले राहत दिएको भएतापनि आगोले बस्ने घर सबै सखाप पा-यो । राहत सामग्रीहरु राख्ने ठाँउ समेत छैन ।’ त्यस्तै उनीहरुले घर निर्माणका लागि प्रदेश सरकारसँग माग पनि गरेका छन् ।

घटनाको निरीक्षणका लागि गमगढी पुगेका मुख्यमन्त्री शाहीलगायतको टोलीसँग आगो निभाउने पानी समेत नभएको तथा विजुली र सञ्चार सेवासमेत अवरुद्ध भएको भन्दै आगलागी पीडितहरु आक्रोशित भएका थिए ।

त्यस्तै उनीहरुले ऋण गरेर नयाँ घर बनाएपनि एकैछिनमा खरानी भएको भन्दै तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् ।

मुख्यमन्त्री शाहीसँग यथाशीघ्र बस्ने ब्यवस्था मिलाउनका लागि आग्रह गरिएको पीडित छिरिङ लामाले बताए । आगलागी भएको स्थानमा तत्काल खानेपानी, विद्युत, सञ्चार सेवा उपलब्ध गर्नका लागि प्रदेश सरकारले मातहतका कार्यालयलाई निर्देशन गरिसकेको बताइएको छ ।

गत सोमबार राति भएको आगलागीबाट गमगढीको तल्लो बजारमा २५ घर जलेर खरानी भएको छ, भने ८० परिवार घरविहीन बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV