१ मंसिर २०७८, बुधबार

काठमाडौं । सर्वोच्च अदालतका ५ जना न्यायाधीशले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गरेर जारी विवादको समाधान गर्नुपर्ने धारणा राखेका छन् । न्यायाधीशहरू मनोजकुमार शर्मा, कुमार चुडाल, तेजबहादुर केसी, कुमार रेग्मी र बमकुमार श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा गरेर न्यायालयको विवाद समाधान गर्नुपर्ने बताएका हुन् ।

बुधबार (आज) नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँगको भेटमा इजलासमा फर्किएका उनीहरुले उक्त धारणा राखेका हुन् । भेटमा सहभागी सर्वोच्च अदालत बारका सचिव ऋषिराम घिमिरेले प्रधानन्यायाधीश बाहेकका आफूहरु १९ जना न्यायाधीशको एउटै मत रहेको बताए ।

उनले भनेका छन्, ‘उहाँ (प्रधानन्यायाधीश)को सम्मानजनक ढंगले बहिर्गमन भइदिए निकास निस्किन्छ भन्ने उहाँहरू ( इजलासमा फर्किएका न्यायाधीश)को भनाइ थियो । प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने कुरामा उहाँहरू पनि कटिबद्ध हुनुहुन्छ ।’

५ न्यायाधीशले बन्दीप्रत्यक्षीकरणबाहेक मिलापत्र, तामेली र मुद्दा फिर्ताका पेसी हेर्ने वातावरण हुनुपर्ने आफूहरूको धारणा रहेको बताएका थिए । बारका पदाधिकारीले भने बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्न आग्रह गरेको घिमिरेले जानकारी दिए ।

दुई घण्टा छलफल भएको उक्त छलफलमा नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष इश्वरीप्रसाद भट्टराई, रक्षा बस्याल, सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र सचिव घिमिरेलगायत थिए । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले राजीनामा गर्नुपर्ने भन्दै कार्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV