१ मंसिर २०७८, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट । गौर कारागारमा एकजना कैदीले आत्महत्या गरेका छन् । जवरजस्ती करणी , अपहरण र शरिर बन्दकको मुद्दामा २१ वर्ष कैद सजाय भोगिरहेका २४ वर्षीय लडाइ साहले आत्माहत्या गरेका हुन् । उनले कारागारको शौचालयमा डोरीको पासो लगाएर दिउँसो करिब पौने २ बजेको समयमा आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।

मृतक साह देवाही गोनाही नगरपालिका ५ का स्थानीय बासिन्दा रहेको र उनले किन आत्महत्या गरेको भन्ने अझैसम्म नखुलेको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।

डोरीको पासो लगाएर आत्माहत्या प्रयास गरेका साहलाई गौर अस्पताल पुर्याए लगतै अस्पतालले मृत घोषणा गरेको थियो । गौर कारागारका प्रमुख शम्भु प्रसाद यादवले २ वर्ष कैद सजाय भुक्तान गरिसकेका मृतक साहले धेरै वर्ष कैद सजाय भ‌एकाले डिप्रेसनमा परेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

यता गौर कारागारका मुख्य नाइके र नाइकेहरुले चरम मानसिक एवम् शारिरिक यातना दिने गरेकाले आत्महत्याको कारण त्योपनि हुनसक्ने भन्दै त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने पूर्व कैदीबन्दी राजेश गिरीले माग गरेका छन् ।

उहाँले आफुले कारागारमा रहदाँ उनीहरुको अत्याचार प्रत्यक्ष देखेको र भोगेको अनुभव सुनाउँदै त्यहाँको अत्याचारभन्दा मृत्यु सहज हुने अवस्था सृजना भएको हुनसक्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV