१ मंसिर २०७८, बुधबार

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का हुनुपर्ने बताएका छन् । बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने पार्टीको महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का हुनुपर्ने बताएका हुन् ।

उनले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई पराजित गर्नका लागि बाँकी सबै उम्मेदवारहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखेका हुन् । त्यस्तै कोइरालाले संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार बनाउनका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समेट्नुपर्ने बताए ।

त्यस्तै उनले काठमाडौं बाहिर निस्केपछि नेता प्रकाशमान सिहंलाई मान्छेले नचिन्ने टिप्पणी गर्दै भने, ‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ, तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौं बाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन् ।’

त्यस्तै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिमा प्रतिस्पर्धा गरिसकेकाले दोर्होयाउन नहुने आशय व्यक्त गरेका छन्, तर पौडेल आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बन्ने कसरतमा रहेका छन् ।

त्यस्तै सभापति पदका अर्का आकांक्षी डा. शेखर कोइरालाको तयारीप्रति महामन्त्री कोइराला सकारात्मक देखिएका छन् । उनले सभापतिको उम्मेदवार बन्न शेखरले सबैलाई मिलाउन सक्नुपर्ने सुझाव दिए । महामन्त्री कोइराला आफै पनि सभापतिको दौडमा छन् । तर उनी सर्वसम्मत उम्मेदवार बन्नुपर्नेमा जोड दिँदै आएका छन् ।

LIVE TV