३० कार्तिक २०७८, मंगलवार

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन समन्वय समितिले न्यायालयमा देखिएको समस्यालाई यथाशीघ्र निकास दिनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

मंगलबार समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको बैठकले न्यायालयमा देखिएको समस्या यथाशीघ्र सबैबाट यसको हल हुनुपर्ने धारणा सार्वजनिक गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ, ‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता गरिमा, विश्वासनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने आशा गर्दछौँ ।’

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धनमा जोड दिएको छ ।

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीष परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV