
काठमाडौं । ‘मदिरा, चुरोट, सूर्ती तथा सूर्तीजन्य पदार्थलगायतका जनस्वस्थमा प्रतिकुल असर गर्ने कुनैपनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार–प्रसार गर्न नपाइने’ भन्ने विज्ञापन बोर्डको विज्ञप्तीप्रति मिडिया अलाइन्स नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार मिडिया अलाइन्स नेपालका महासचिव महासचिव दिरेकलाल श्रेष्ठले विज्ञप्ती जारी गरेर विज्ञापन बोर्डले हालै जारी गरेको विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘विज्ञापनको विश्वव्यापी परिभाषा र भूमिकामा बृहत परिमार्जन भई विज्ञापन उपभोक्ताको ‘छनौटको अधिकार’ बनिसकेको २१ औं शताब्दीमा यसरी उपभोक्ताको सुनिश्चित हुने हक अधिकार नै कुण्ठित हुने गरी नेपाली विज्ञापनको बृहत्तर हितको लागि गठित बोर्डबाट नै यस्तो विज्ञप्ती जारी भएकोप्रति मिडिया अलाइन्सले खेद प्रकट गर्दछ ।’
त्यस्तै तत्काल उक्त कदम फिर्ता लिन अलाइन्सले बोर्डलाई अपील पनि गरेको छ । जुनसुकै वस्तु वा उत्पादनको विषयमा सूचना प्राप्त गर्नु उपभोक्ताको मौलिक हकभित्र पर्ने अलाइन्सद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मदिरा र मदिराजन्य उत्पादनको विषयमा बिश्वब्यापी मान्यता र प्रचलित कानूनले समेत विज्ञापनलाई बन्देज नगरेको विज्ञप्तीमा जिकिर गरिएको छ ।
यसका साथै कोरोना महामारीका कारण धरासायी भएको विज्ञापनमा आश्रित आम सञ्चार मध्यमहरुलाई पुरानै लयमा फर्काउन विज्ञापन बोर्ड उन्मुख रहोस् भन्ने अलाइन्सको माग पनि रहेको छ ।