३० कार्तिक २०७८, मंगलवार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गर्दै संवैधानिक आयोगका पदाधिकारीहरुले आन्दोलित कानुन व्यवसायीहरुलाई आफ्नो अडानबाट लचिलो भएर समस्या समाधानको बाटोमा आउन आग्रह गरेका छन् ।

मंगलबार ८ आयोगका अध्यक्षको नेतृत्वमा ३१ जना सदस्यहरुको उपस्थितिमा विज्ञप्तिमार्फत आन्दोलनबाट वार्तामा आएर समस्या समाधानको बाटो खोजिनुपर्ने भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा सबै सरोकारवालाहरुले आ आफ्ना अडान लचिलो भई न्याय र जनताका हितका लागि आफ्नो असहमतिका कारणबाट सिर्जना भएका विवादबाट पछि हटेर वर्तमान समस्याको समाधान खोज्नु राष्ट्रिय हितमा छ ।’

न्यायालयमा देखिएका समस्याका सन्दर्भमा संविधानसम्मत, विधिसम्मत र न्यायसंगत मार्ग अवलम्बन गर्नुबाहेक अरु विकल्प नभएको बताइएको छ । यसको अर्थ आयोगका पदाधिकारीरुले प्रधानन्यायाधीशी जबराको राजीनामाको बचाउ गर्दै काममा फर्किन भनिएको प्रष्टिन्छ ।

तर, हाल प्रधानन्यायाधीश जबराको राजीनामा नदिएसम्म अडानबाट विचलित नहुने भन्दै कानुन व्यवसायीहरु आन्दोलित छन् भने सर्वाेच्चकै न्यायाधीशहरु प्रधानन्यायाधीशमाथि असन्तुष्टि पोख्दै आएका छन् ।

विज्ञप्तिको पहिलो वाक्यमा सर्वोच्च अदालतमा दुई सातादेखि बन्दीप्रत्यक्षीकरण लगायतका निवेदन समेत सुनुवाइ हुन नसकेको भनिएको छ ।

तर, केही दिन यता छाडेर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनको नियमित सुनुवाइ भइरहेको छ ।

विज्ञप्तिमा संवैधानिक पदाधिकारीहरुले अदालतको विवादमा प्रधानन्यायाधीश र न्यायाधीशहरु बराबर जिम्मेवार रहेको भनिएकोछ भने बारलाई पनि जिम्मेवार हुन आग्रह गरिएको छ । साथै, अहिले न्यायायलमा देखिएको समस्याको समाधान वार्ताबाहेक नरहेको पनि भनिएको छ ।

विज्ञप्ति हेर्नुहाेस्र :

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV