३० कार्तिक २०७८, मंगलवार

एजेन्सी । चिनियाँ राष्ट्रपति शी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको चेतावनी दिएका छन् । शी जिनपिङले ‘जसले आगोसँग खेल्छ ऊ जल्छ’ भन्दै चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

त्यस्तै दुई नेताबीच सम्पन्न भएको भर्चुअल बैठकमा शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भएको थियो । बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध भएको जनाएको छ । एक चीन नीति मान्ने देशले ताइवान चीनको हिस्सा भएको मान्यता राख्दछ ।

त्यसोत अघिल्लो महिना मात्र बाइडेनले यदि चीनले ताइवानमाथि हमला गर्छ भने अमेरिकाले ताइवानको बचाउ गर्ने बताएका थिए । उक्त बैठक ताइवान, व्यापार र मानवाधिकारको मुद्दामा जारी तनावबीच भएको हो ।

राष्ट्रपति बाइडेनले आफ्नो प्रतिद्वन्द्तिालाई संघर्षतर्फ जान नदिन दुबै देशको जिम्मेवारी भएको बताएका थिए । चिनियाँ विदेशमन्त्रीका प्रवक्ता हुआ चुनयिङले दुई नेताको वार्ता निकै रचनात्मक र लाभकारी रहेको बताएका छन् । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV