३० कार्तिक २०७८, मंगलवार
  • ठाकुर बेलवासे

आफ्नै मनको सन्तापले
आफ्नै आँखाको आगोले
जल्न थालेपछि
चन्द्रमाको जस्तो अनुहार
सूर्यको जस्तो व्यवहार बाँचेको जिन्दगीमा
आफै खग्रास बन्न थालेपछि
सर्वप्रथम मान्छे नदी किनारमा पुग्यो
नदीबाट एक अञ्जुली आस्था उठायो
उग्रतापले छटपटिएको जीवनलाई शीतल बनायो
र जीवनभर शान्त बनेर बाँच्यो

मान्छेले
गडतीरबाटै देख्यो
नदीले निर्माण गरेको अशेष सभ्यता
नदीले निर्माण गरेको एउटा अभेद्य संस्कृति
र देख्यो मान्छेले
नदीको काखमा सुतेर
स्तन चुस्दे गरेको बालक धरती

यसपछि मान्छेले
नदीलाई देवी मान्यो
बिनातिर्खा बाँच्यो जीवनभर
आमा मान्यो नदीलाई
बिनाभय शान्त जीवन बाँच्यो
नदीलाई छोरीचेली मान्यो मान्छेले
संस्कृति र संस्कारका गहनाले सजिएको
एउटा सार्थक जीवन हाँस्यो

धरतीलाई काखमा सुताएर
आकाशलाई छातीमा च्यापेर
नदी सिंगो अस्तित्व जोगाउँदै बगिरहेको छ निरन्तर

मान्छे नदीको सृष्टि मासेर
आफ्नो टाउकोमा आगो बालिरहेको छ
नदीले दिएको दृष्टिलाई समाप्त पारेर
आफ्ना आँखा खरानीमा पुरिरहेको छ
नदीको संस्कार लुटेर प्राणहीन बाँचिरहेको छ

नदी हत्या गरेर मान्छेले
सम्पूर्ण रुपौलो भविष्यको अन्त्य गरिरहेको छ
नदीको गति रोकेर मान्छेले
धरती आकाशका पाइला रोकेको छ

अब मान्छे जोगिन कहाँ जाला ?

मान्छेले नदीको अन्तिम विद्रोहको भयाभव
कसरी सहन सक्छ होला ?
धरतीको अन्तिम उग्रता देख्न शापित
मान्छेको अवसान कस्तो होला ?

म कालीगण्डकीको तीरमा उभिएर
भविष्यको भयावह तस्बिर हेरिरहेको छु
म मृत्युको सहजता खोज्न कहालिएको छु !
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङ्खला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृङ्खलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ ।

अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV