३० कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको हो । नेपाल बन्दका कारण काठमाडौंमा विहानैदेखि सार्वजनिक सवारीहरु एकदम कम चलेका छन् । रिङराेडमा यदाकदा गाडीहरू चले पनि शाखा राेडहरूमा भने सुनसान छ ।

यात्रुले बिहानै सास्ती भोगेका छन् । सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रुहरु पनि विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

बिहानै काममा हिडेका यात्रुहरू अलपत्र परेका छन् । सवारीसाधन नहुने सर्वसाधारणहरू हिँडेरै कार्यस्थल पुगेका छन् भने कतिपय निजी सवारी साधनहरू फ्याट्टफुट्ट चलेका छन् ।

रिङराेडकाे सुकेधारा चेाकमा प्रहरीले समेत चेकिङ कडाइ गरेकाे छ । सडकमा डिभाइडरहरू राखेर सवारी  आवागमनमा अवराेध गरेकाे देखिएकाे छ । यसले नेपाल बन्दलाइ सघाउ पुग्नेगरी सडक अवराेध गरेकाे झल्काे दिन्छ । यसले रिङरोडमा चलिरहेका केही लामो दुरीका बस, चक्रपथमा गुड्ने सार्वजनिक यातायात तथा ट्रकहरु पार गर्न गाह्रो भएको चालकहरुको भनाइ छ ।

महाराजगन्ज चाेकमा पनि बाक्लाे संख्यामा प्रहरीहरू तैनाथ छन् तर सवारीकाे चाप न्यून छ । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको जनाइएकाे छ । सडक तथा चाेकहरूमा बन्दकर्ताकाे भने खासै उपस्थिति देखिएकाे छैन ।

अन्य चोकहरूमा पनि प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी र माेटरसाइकल भने भने सामान्य रुपमा चलिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV