२९ कार्तिक २०७८, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट । सामुदायिक विद्यालयले कानुनविपरीत चर्को शुल्क लिएपछि रौतहटको सदरमुकाम गौरमा रहेको जुुद्ध उच्च मा.वि.का विद्यार्थीहरु आन्दोलित भएका छन् ।

संविधानले माध्यामिक तहसम्म निःशुल्क शिक्षा ग्यारेन्टी गरिसकेको अवस्थामा सो विद्यालयले अवैध रुपमा शुल्क उठाइरहेको भन्दै विद्यार्थीले विद्यालय परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले विद्यालयमा तोडफोड तथा आागजनी पनि गरेका थिए । उनीहरुले सामुदायिक विद्यालयमा कुनैपनि बहाना शुल्क लिन नहुने भन्दै आफूहरुको माग पूरा नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

‘नेपालको संविधान लगायत विभिन्न शिक्षासम्बन्धी ऐन तथा नियमावलीले माध्यामिक तहसम्म निशुल्क अध्ययनको प्रबन्ध गरेको छ,’ आन्दोलनरत एक विद्यार्थीले भने , ‘तर विद्यालय प्रशासनले मनलाग्दी ढंगबाट विद्यार्थीबाट शुल्क उठाइरहेको छ । यो बन्द नहुन्जेल हामी आन्दोलन गरिरहन्छौँ ।’

विद्यालयले हाल अंग्रेजी र नेपाली माध्यम भनेर दुई थरिको शिक्षा प्रदान गरिरहेको छ । विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अगे्रजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क लिएको भन्दै विद्यार्थी आक्रोशित भएका हुन् ।

यसरी कानुनविपरीत शुल्क नउठान् भनेर विद्यार्थीहरुले यसअघि पनि पटक पटक आन्दोलन गरेपनि सुनुवाइ नभएपछि कडा आन्दोलनमा उत्रन वाध्य भएको विद्यार्थीहरुको भनाइ छ ।

अनेरास्ववियूका सचिवालय सदस्य रवि मिश्रले कानुन विपरित शुल्क उठाउने निर्णय गर्ने तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डल र हालका प्रधानाध्यापक चन्देश्वर राउतलाई कारवाही हुनुपर्ने माग गर्दै आन्दोलनरत विद्यार्थीहरुको साथमा आफुहरुपनि रहेको बताए ।

‘हामीले पनि ऐन, कानुन, संविधानविपरीत शुल्क नलिन विद्यालय प्रशासनलाई बारम्बार अनुरोध गरिरहेका छौँ’ मिश्रले भने , ‘तर, विद्यालय प्रशासन र प्रधानाध्यापकले नियम कानुनको धज्जी उडाइरहेका छन् । यसलाई तुरुन्त रोक्नुपर्छ , कानुनभन्दा माथि कोहीँ हुँदैनन् ।’

यता विद्यालय प्रशासनले भने विद्यालयले आफ्नै श्रोतबाट अंगे्रजी माध्यम सञ्चालन गरेकाले शिक्षकको तलब लगायतको सुविधा दिनको लागि अभिभावकसँगै सल्लाह गरेर शुल्क उठाएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV