२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शैली अपनाएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीकै शैली अपनाएको प्रधानन्यायाधीश जबरासँग कुनै रचनात्मक काम गर्ने दिमाग नभएको आरोप लगाए ।

उनले भने, ‘हिजो ओलीले पनि भिजेलान्ते प्रयोग गरेकै हो। अहिले ओलीकै शैली चोलेन्द्र शमशेर जबराले अपनाएका छन् । चोलेन्द्र शमशेर कमरेड ओलीको फोटोकपीबाहेक केही पनि होईन् । उहाँसँग रचनात्मक दिमाग छैन ।’

उनले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न ढिलो गरेको टिप्पणी गरे । उनले भने,‘जब उहाँ असंवैधानिक रुपमा बोलाईएको संवैधानिक परिषद्को बैठकमा जानुभयो, त्यतिबेला नै मैले उहाँको राजीनामा मागेको थिएँ । म त निरन्तर बोल्दै आएको छु । बारले आन्दोलनमा ढिलाई गर्यो, यो सत्य हो ।’

प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट हटाउ भनेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबरा भने संविधानतः असफल भइसकेको दाबी उनले गरे ।

‘संविधानको धारा १३६ अनुसार उहाँ प्रभावकारी ढंगले कामकारबाही सञ्चालन गर्न पूर्ण रुपमा असफल हुनुभयो । उहाँ बेञ्च तोकनुहुन्छ, तर सहकर्मी न्यायाधीशहरु बहिष्कार गर्नुहुन्छ, उहाँ असक्षम भइसक्नुभयो,’ उनले भने, ‘अब कुन संविधानअनुसार प्रधानन्यायधीश हुनुहुन्छ ? उहाँले आफ्नो संवैधानिक दायित्व पूरा गर्न सक्नुभएन । तपाईँलाई अब संविधानको धारा १३६ ले नै चिन्न छोडिसक्यो । तपाईँ यसैपनि पदमुक्त हुनुभयो । उहाँले सर्वोच्च अदालतमा प्रहरी परिचालन गर्नुभयो । भिजिलान्ते प्रयोग गर्नुभएको छ ।’

उनले अहिले प्रधानन्यायाधीश जबरासँग विनोद चौधरीको भन्दा बढि पैसा छ भनेर चर्चा चलेको पनि स्मरण गराए ।

उनले भने,‘यो कुरा सुन्दा हाम्रो कान नै अपवित्र हुन्छ । यो चर्चा चल्नु आँफैमा पनि प्रधानन्यायाधीश या कुनै पनि न्यायाधीशको पद विवाद भन्दा मुक्त हुनुपर्छ । यत्रो हाई भोल्टेज कन्ट्रोभर्सीमा परेपछि संसारमा कुनै पनि प्रधानन्याधीश पदमा बस्दैनन् । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोज्ने, राजदूत र संवैधानिक निकायमा भाग खोज्छ र ? संविधान र विधिको शासनको रक्षक हुनुपर्ने होईन ? आम नागरिक जनताको शीर निहुरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV