२९ कार्तिक २०७८, सोमबार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टीकरण मागेको छ ।

कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टिकरण सोधेको क्यानले जनाएको छ ।

खेलाडी वर्गीकरणको विषयलाई लिएर मिडियामा असन्तुष्टि पोखेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो ।

खेलाडीहरुलाई आगामी बुधबारसम्म वर्गीकरणको विषयमा मिडिया बोल्नुको कारण सहित लिखितरुपमा स्पष्टीकरण दिन भनिएको र खेलाडीको जवाफको आधारमा अर्को निर्णय लिने क्यानको तयारी रहेको छ ।

केहि दिन अघि चार खेलाडीले एक मिडियामा आएर राष्ट्रिय क्रिकेट खेलाडिहरुको वर्गीकरणमा आफुहरु सन्तुष्ट नभएको बताएका थिए । क्यानले अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि खेलाडी वर्गिकरण गरेको थियो ।

LIVE TV