२९ कार्तिक २०७८, सोमबार

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा राणाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्र्दै फोरमले प्रधानन्यायाधीशबाट राणाको बहिर्गमन हुनैपर्ने अडान दोहोर्‍याएको छ ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीश राणाले आचारसंहिता उल्लंघन गरेको भन्दै सरकार, राजनीतिक दल, सांसदहरुलगायत विभिन्न प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकसमक्ष न्यायपालिका जोगाउन भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीशहरुको कावु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौं । जिम्मेवार निकाय र पदाधिकारीहरुले यस अभियानको गम्भिरता हृदयांगम गरी शिघ्रातिशिघ्र वर्तमान प्रधानन्यायाधीशवाट न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौं ।’

प्रधानन्यायाधीश जबराले वार्ताका लागि गरेको आह्वान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास रहेको फोरमको ठहर छ ।

फोरमले विज्ञप्तिमा भनेको छ, ‘आज २९ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट जारी गरिएको वार्ता लागि आह्वान गरेको विज्ञप्ति न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास हो । यो न्यायापालिकाको हितमा रहेको देखिँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV