२९ कार्तिक २०७८, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्। काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको पनि बताए।

कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गर्‍यो,’ उनले भने। उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्‍याउनुपर्ने बताए।

‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ। लुकाएर लुक्ने कुरा होइन,’ सिंहले भने, ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४ औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु।’

उनले सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको पनि बताएका छन्। उनले प्रजातन्त्र दुःख, कष्ट गरेर आएको पनि बताए। त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केन्द्रीय समिति बैठकपछि भने अब महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको बताएका छन्। ‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौं, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’

पटकपटक महाधिवेशन सरेकोले यो मितिमा पनि महाधिवेशन हुनेमा शंका थियो। थापाका अनुसार निर्वाचन आयोगले बारम्बार दिएको दबाबपछि मात्रै अहिले नै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको हो।

‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौं होला,’ उनले भने, ‘यो सामुहिक क्षयिकरणको प्रमाण हो। हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौं।’

उनले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए। नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV