२९ कार्तिक २०७८, सोमबार
  • महेश पाण्डे

चितवन । पूर्वी चितवनको रत्ननगर–८ मा हरेक वर्ष हरिबोधनी एकादशीमा लाग्ने चित्रसारी मेलामा आज रौनक देखिएको छ । कोभिड महामारीका कारण अघिल्लो वर्ष मेला हुन नसकेको भएपनि यस वर्ष भने आइतबारदेखि मेला सुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलाको प्रमुख आकर्षण उखु र सखरखण्ड रहने गरेको छ । मेलामा सबैभन्दा धेरै उखु र सखरखण्डको बिक्री हुने गरेको छ ।

मेलामा उखु बेच्न ल्याएका उखु ब्यापारी जगराम चौधरीलाई पनि एकादशीमा वर्त बस्नेका लागि उखु शुद्ध खानेकुरा पनि भएकाले हरेक वर्ष आफूले पनि ब्यापार गर्न चित्रसारी आउने गरेको बताउछन् । मेलामा उखु ल्याएर बेच्दा फाइदा पनि राम्रै हुने गरेको चौधरीको भनाइ छ ।

हरिबोधनी एकादशीमा महिला तथा पुरुषहरु ब्रत बस्ने र चित्रसेन मन्दिरमा पूजाआजा गरी मेलामा सहभागी हुने गरेको चित्रसेन बाबा संरक्षण समितिका अध्यक्ष जलराम महत्तोले जानकारी दिए । चितवनका विभिन्न ठाउँ र छिमेकी जिल्लाहरु नवलपरासी र मकवानपुरबाट समेत भक्तजनहरु मेला भर्न आउने गरेको उनको भनाइ छ ।

उनले कोभिडका कारण यसवर्ष स्वास्थ्यको मामदण्ड पालना गरेर मात्र मेलामा सहभागि हुन दर्शकलाई आग्रह गरिएको बताए । मेलाम पहिला मादक पदार्थको बिक्रि बितरण बढीनै हुने गरेकोमा हालका दिनमा भने त्यसलाई केहि भने पनि कम गर्दै लगिएको र बिस्तारै सो प्रथा हटाउने पनि जानकारी दिए ।

उता रत्ननगरमै बस्ने स्थानिय मनु महत्तोले मनले चिताएको पुग्ने भएकाले पनि आफु हरेक वर्ष चित्रसेन बाबा को पुजा गर्न र मेला हेर्न आउने गरेको बताए । उनले परापुर्व कालदेखि चलि आएको पर्वमा चित्रसेन बावाको पुजा गर्न आफु परिवार सहित आउने गरेको बताए ।

हरिबोधिनी एकादशीमा भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।

असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । चितवनमा पनि देवघाटसँगै चित्रासारी र पूर्वी चितवनको खैरहनी–७ मझुईको ब्रह्मथान लगाएतका ठाउँमा पुजा अर्चनाको साथमा मेला भर्नको लागि उल्लेख्य मात्रामा दर्शकको उपस्थिति हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV