२९ कार्तिक २०७८, सोमबार

काठमाडौँ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायपालिकाको संस्थागत सुधार गर्न आफू तयार रहेको बताएका छन् ।

प्रन्या जबराले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भएको सर्वोच्च अदालत परिसरको धर्ना तथा विरोध कार्यक्रमप्रति उनले खेद समेत प्रकट गरेका छन् ।

उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको बताउँदै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गरेका छन् ।

प्रन्या जबराले भनेका छन्, ‘हामीबीच हालसालै भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वंयले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार रहेको यथार्थ पुनः अनुरोध गर्न चाहन्छु।’

न्यायालयमा यस गम्भीर परिस्थिति देखिएकाे भन्दै उनले भनेका छन्, ‘न्यायपालिकाको संस्थागत सुधार र सवलीकरणका लागि हामीबीच हालसालै भएका संवाद र अन्तरक्रियाबाट प्राप्त सुझाव एवम् माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वंयले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन म सधैं तयार रहेको यथार्थ पुनः अनुरोध गर्न चाहन्छु ।’ सबै सरोकारवाला पक्षले आफ्ना जिम्मेवारीको सिंहावलोकन गर्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई अझ सम्मानपूर्ण रूपमा अघि बढाउनुको विकल्प नरहेकाे प्रन्या जबराकाे भनाइ छ ।

विगतका केही हप्ता न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरू भएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरु एकताबद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अंग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो,’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV