२८ कार्तिक २०७८, आईतवार

काठमाडौं । वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको (आइतबार) आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भएपनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।

वि.सं. २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।

कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए ।

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक सङ्घको केन्द्रीय नेतृत्वमा रहिसकेका थिए ।

अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उनको जन्मथलो पोखरा आजै लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV