२८ कार्तिक २०७८, आईतवार

तनहुँ । संसदीय निर्वाचनको झल्को दिनेगरी शनिवार सत्यवती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस)को निर्वाचन सम्पन्न भएको छ ।

अध्यक्ष पदका लागि करुण काफ्ले, माधव अधिकारी, सुरेश वाग्ले र सुर्यचन्द्र लम्साल प्रतिस्पर्धामा होमिएका थिए।

विव्यसको अध्यक्षमा अत्याधिक मत ल्याएर करूण काफ्ले विजयी भएका छन् । निर्वाचन समितिको अन्तिम मत परिमाण अनुसार कूल मतको आधाभन्दा बढी मत ल्याएर काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् ।

काफ्लेको पक्षमा ५ सय ८० मत खसेको थियो भने सुरेश वाग्लेको पक्षमा २ सय ९०, सुर्यचन्द्र लम्सालको पक्षमा १ सय २६ र माधव अधिकारीको पक्षमा ५९ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। २० मत बदर भएको छ । विव्यसका लागि शनिवार भएको मतदानमा १ हजार ७५ मत खसेको थियो।

विव्यसमा निर्वाचित काफ्ले सत्यवती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा पूर्वशिक्षक हुन ।

शनिबार बिहानैदेखि विद्यालय परिसरमा अभिभावक मतदान गर्न आतुर थिए। हातमा रातो चिट (परिचय पत्र) सहित बोकेर भोट हाल्न युवादेखि वृद्धवृद्धा अभिभावकले विद्यालय व्यवस्थापन समिति पदाधिकारी छानेका हुन् । राजनीतिक स्वार्थका बिच पटक– पटकको सहमति प्रयास असफल भएपछि सत्यवती माविले शनिबार मतदानमार्फत् विव्यसको अध्यक्ष छान्न चुनावमा नै उत्रिन बाध्य भएको हो।

वि.सं. २०३३ सालमा स्थापित सत्यवती माध्यमिक विद्यालयमा अध्यक्ष चयनका लागि चुनावी प्रक्रियामा गएको पहिलो पटक हो । कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा २ हजार ५ सय ४६ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ। विद्यार्थीका अभिभावक मतदाता हुने व्यवस्था छ।

विव्यसको निर्वाचनमा पितृशोकमा परेका अध्यक्ष उम्मेदवार सुरेश वाग्ले आफै अभिभावकसँग भोट मागेका थिए । विद्यालयको शैक्षिक, भौतिक सुधारका लागि उम्मेदवारी दिएको र पितृशोकमा पनि चुनावी मैदानमा उपस्थित भएको वाग्लेले बताए।

आफनो अनुकूलको वातावरण बनाउन विव्यसमा राजनीतिक हस्तक्षेप बढेको सत्यवती माध्यमिक विद्यालयका पूर्व विव्यस अध्यक्ष सुर्यदेशभक्त अधिकारीले बताए ।

विव्यस गठनका लागि निर्वाचन प्राणलीमा जानु अभिभावकलाई झन्झटिलो र विद्यालयलाई व्ययभार मात्र बढ्ने अभिभावक शान्ता बास्तोलाले बताइन् ।

यता, व्यास नगरपालिकाका शिक्षा प्रमुख नगेन्द्र रेग्मिले निर्वाचन खर्चिलो प्रणाली रहेको बताउदै सहमतिमा जोड दिनु पर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV