२८ कार्तिक २०७८, आईतवार

काठमाडौँ ।  चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार जित्नु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भए ।

दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भएकी छन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार पाएकी छन् ।

सिन्धुपाल्चोककी नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो स्थान प्राप्त गरिन् । तेस्राे, चौँथो र पाँचौ स्थान क्रमश: प्युठानकी संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारिन् ।

त्यस्तै सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् । भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन् । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन एसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV