२८ कार्तिक २०७८, आईतवार

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको साथ छोड्दै अन्य नेताहरु धमाधम बाहिरिन थालेका छन् । अध्यक्ष मिश्रले एकलौटी निर्णय गर्न थालेको र अरुलाई नटेरेको भन्दै थप १२ जना नेताले उनको साथ छाडेका छन् ।

आइतबार एक संयुक्त वक्तव्य निकाल्दै १२ जनाले पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्यतासमेत त्यागेको घोषणा गरेका हुन् । उनीहरुले भनेका छन्, ‘एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइनविपरीतका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको हाम्रो बुझाइ हो । अध्यक्ष मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ ।’

वक्तव्यमा केन्द्रीय सदस्य दीपक पौडेल र प्रकाश आचार्य, युवा संगठनका केन्द्रीय सदस्यहरु मनिषा मगर र महेन्द्र आचार्य तथा गण्डकी प्रदेश सदस्यहरु अशोक खड्का, सुदीप ओझालगायतको नाम छ ।

LIVE TV