२७ कार्तिक २०७८, शनिबार

धनगढी (कैलाली) । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले दलित समुदाय शासक वर्गहरुबाटै अपहेलित र दबिएको बताएका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित दलित मुक्ती मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनका क्रममा उनले वर्तमान अवस्थामा दलित समुदायले भोग्नुपरेको विभेदकारी व्यवहारको चर्चा गरेका थिए । २१ औँ शताब्दीमा समेत जातीय विभेदले मुक्ती नपाउनु मानव जगतका लागि असह्य भएको भन्दै उनले दुख व्यक्त समेत गरे ।

यसका साथै जनआन्दोलनले नेपालमा विभिन्न परिवर्तन ल्याएको भन्दै आवश्यक परे अझैपनि आन्दोलनका लागि पछि नहट्ने चन्दले बताए । दलित समुदायको हकहितका लागि आफूहरु बन्दुक तथा तरवारको सामना गर्न समेत तयार रहेको उनले बताए ।

दलित मुक्ति मोर्चाको राष्ट्रिय अभियान अन्तर्गत आज धनगढीमा पाँचौ राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । जसमा सयौँको संख्यामा विप्लव निकट नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो, भने सयौँको सख्यामा सर्वसाधारण सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV