२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का ४ जना पूर्व उपकूलपतिहरूले न्यायालयमा देखिएको समस्या समाधान गर्नका लागि अग्रसरता लिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

शनिबार (आज) त्रिविका पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले विज्ञप्ती जारी गरेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लिएर सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्नका लागि अग्रसरता लिन राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् ।

‘बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षणन’ शीर्षकमा जारी विज्ञप्तीमा भनिएको छ, ‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ । गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी छ ।’

त्यस्तै पूर्वउपकुलपतिहरूले न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? भन्ने प्रश्न राखेका छन् । जारी विज्ञप्तीमा थप भनिएको छ, ‘यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु अत्यन्त आश्चर्यलाग्दो छ । जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV