२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले अंगाल्दै आएको जनताको बहुदलीय जनवाद (जबज) पूजीवादको रुप भएको भन्दै त्यसलाई नेकपा (एस) ले मार्गदर्शन मान्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै जबजको ठाउँमा जनवादको उपयोग गर्दै मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शन बनाएर समाजवादी क्रान्ति कार्यदिशा पूरा गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘स्वरुपमा जति धेरै जनवाद जन्मिएपनि सारतः सबै जनताको बहुदलीय जनवाद हो। जबज भनेको पुजिवाँदी जनवादको एउटा रुप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ। जबज मार्गदर्शन बन्न सक्दैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शन हो।’

आगाी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीमा मौलाएको अहंकारवादलाई धुजा–धुजा पारेर केलाएर खण्डन गर्नुपर्ने पनि बताएका छन् । ‘दक्षिणवादी अवसरवादी ,व्यक्तिवाद, अहंकारवादको धुजा धुजा केलाएर खण्डन गर्नुपर्छ,’ उनले भने, ‘आम कार्यकर्ताको विचमा भण्डाफोर गर्नुपर्छ। बुर्जुवा संसदद्बाटबाट मुक्त हुनुपर्छ। ’

एमाले रहँदा ओलीले गुट मात्रै चलाएकाले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बाध्यता पनि नेता खनालले सुनाए । ओलीका कारण एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर भएपछि नयाँ पार्टी खोल्नु परेको उनले बताए ।

उनले अब अहिलेको पाँच दलीय सत्ता गठबन्धनलाई तलैसम्म लैजानुपर्ने धारणा पनि राखेका छन् ।

LIVE TV