२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको बताएका छन् । त्यस्तै आफूहरुलाई एमसीसी उचित र राम्रो लागेको सुमनको तर्क छ ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने, ‘हाम्रो पार्टीले एमसीसीबारे राम्रोसँग अध्ययन गरिरहेको छ । एमसीसी सरकारको विषय होइन, यो संसदको विषय हो । प्रत्येक पार्टी र सांसदहरुको दायित्व हो ।’

उनले थप भने, ‘अहिले हामीले राम्ररी अध्ययन गरिरहेका छौं । हामी २४÷२५ जना सांसद छौं । पारितको गर्नको लागि त संख्या पनि चाहियो नि, हामी अध्ययनको क्रममा छौं । एमसीसी सम्झौता अध्ययन गर्दा हामीले राष्ट्रविरोधी प्रावधान हामीले अहिलेसम्म भेटेको छैन् । अमेरिकी सेना आउने जुन हल्ला चलाईएको छ, यो पनि गलत हो । नेपालले एमसीसी स्विकार गर्नुपर्छ ।’

त्यस्तै उनले अहिले अदालतभित्र भइरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै धारणा नबनाएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘जनता समाजवादी पार्टी अनुशासित पार्टी हो । सुरुदेखि नै हाम्रो लाइन प्रष्ट छ, अदालतप्रति जनताको अघात विश्वास छ । आस्था छ । अदालतको निर्णय सबैले मान्ने गरेका छन्। अदालतको कुनै निर्णयको विरुद्धमा हाम्रो पार्टीले बोल्दैन ।’

उनले थप भने, ‘अदालतभित्रको चलिरहेको आन्दोलनबारेपनि हामी जानेर नै मौन छौं । बार एशोसिएशन विद्धानहरुको थलो हो । श्रीमानहरु पनि छन् । आन्दोलनले छिट्टै निकास पाउला । तर, हामी यो आन्दोलनको पक्ष र विपक्ष कतैपनि आफूलाई उभ्याउँदैनौं ।’

प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुई तिहाई चाहिने पनि उनले उल्लेख गरे । उनले भने, ‘अदालतभित्रको विवादको विषयमा भोलि गठबन्धनले केही निर्णय गर्यो भने सोचौला । तर, यो आन्दोलनसँग हामीले पार्टीलाई अलग्गै राखेका छौं ।’

उनले न्यायालयमा भ्रष्टाचार छ भनेर आफूहरु तथ्य नभेटिकन नबोल्ने पनि स्पष्ट पारे । उनले थपे, ‘हामी हचुवाको भरमा बोल्दैनौं ।’

स्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैको लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे ।
उनले भने, ‘यो सबैको लागि हानिकारक हुन्छ। अब जहाँसम्म पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कुरा छ, यो आयल निगमले आँफैले भाउ बढाएको हो जस्तो मलाई लाग्दैन । अन्तर्राष्ट्रिय मूल्य बढेसँगै आयल निगमले मूल्य समायोजन गरेको हो जस्तो मलाई लाग्छ । तर पनि मूल्यवृद्धिको लागि म खेद व्यक्त गर्दछु । नेपाल सरकारले खाना पकाउने ग्याँसलगायतका अतिउपभोग्य वस्तुमा सब्सीडी दिओस् । यो नेपाल सरकारले गरोस । आयल निगमले गरेर हुँदैन ।’

त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए स्वागत गर्न आफूहरु आतुर रहेको सुनाए । उनले भने, ‘नेपाल–भारतबीच जनस्तरको सम्बन्ध छ । माता सीतादेखि अहिलेसम्म चल्दै आएको छ । चाडपर्व, वैवाहिक सम्बन्ध, सबै मिल्छ, यो दुनियाँकै उत्कृष्ट सम्बन्ध हो । अस्ति बेलायत भ्रमणको क्रममा हाम्रो प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो, त्यो भेटमा मोदीले छिट्टै नेपाल भ्रमण गर्ने कुरा सुनियो, यो अत्यनै खुशीको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV