२७ कार्तिक २०७८, शनिबार

काठमाडौं । जग्गाको धनीसँग सक्कली लालपूर्जा छ तर, नक्कली लालपूर्जा बनाएर बैंकले नै कतिसम्मको ठगी धन्दा गर्दाेरहेछ भन्ने उदाहरण हो, कुमारी बैंक । कुमारी बैंकमा नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी धन्दा प्रकरणले आममानिसको अचल सम्पत्ति (जग्गा जमिन) कति सुरक्षित रहेछ भन्ने प्रश्न जन्माएको छ ।

जग्गाको सक्कली मालिक हुन्, गायक योगेश्वर अमात्य । उनको बारा जिल्लामा १२ बिघा जग्गा थियो । जसको मूल्य १ अर्बभन्दा माथि रहेको गायक अमात्यको दाबी छ । तर, कुमारी बैंककै कर्मचारीको मिलेमतोमा गायक योगेश्वरको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण लिइयो ।

उक्त ठगी धन्दाबारे गायक अमात्य केही समय बेखबर नै रहे । तर, पछि थाहा पाएपछि उनले प्रहरी अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएपछि घटनाले नयाँ मोड लियो ।

गायक अमात्यको उजुरीसँगै सीआइबीले अनुसन्धान अघि बढाउदा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई पक्राउ गर्यो ।

पक्राउ परेका कर्मचारी र बैंककै सिइओमाथि अनुसन्धान अगाडि बढाउँदै जाँदा नयाँ-नयाँ रहस्य खुल्दै गएको सीआइबीले जनाएको छ । सीआइबीले घटनाको अन्तिम मोडतिर पुगिसकेको र हाल पनि केही विषयमा अनुसन्धान भइरहेकाले तत्काल घटनाबारे सार्वजनिक नगरिने जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिना नक्कली लालपूर्जा बनाएर १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा मुछिएका छन् । तर, उनलाई सीआइबीले भने पक्राउ गरेर अनुसन्धान गरेको छैन । यस विषयमा ठूला उम्किने र साना फस्ने देखिएको भन्दै चौतर्फी विरोधका आवाजहरु आइरहेका छन् ।

मुख्य योजनाकार ?

यस प्रकरणमा पक्राउ परेका बैंकका ४ कर्मचारीसँगै कुसन प्रधान पनि रहेका छन् । कुसन प्रधान सेञ्चुरी बैंकका पूर्वसञ्चालक पनि हुन् र हाल कुमारी बैंकमा कार्यरत रहेका छन् । र, यो प्रकरणको मुख्य योजनाकार पनि उनी भएको सीआइबीको अनुसन्धानमा देखिएको छ । उनकै योजनामा बैंकले १९ करोड ऋण प्रवाह गरेको देखिएको छ । तर, उनी बिरामी भएकाले पक्राउ नगरिएको, निगरानीमा राखिएको र स्वास्थ्यमा सुधार भएसँगै उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिने सीआइबीले जनाएको छ ।

सीआइबीले वीरगञ्ज शाखाबाट न्युरोड शाखालाई पत्र लेखेर अनुमति लिई १९ करोड रुपैयाँ ऋण प्रवाह गरेको हालसम्मको सीआइबीको अनुसन्धानले देखाएको छ ।

सीआइबीमाथि प्रश्न

सीआइबीले बैंकका तल्ल तहका कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तर, सिइओ तिमिल्सिनासहित प्रधानलाई पक्राउ गरेर किन कारबाही नचलाउने भन्दै अहिले चौतर्फी विरोधको आवाज चर्केको छ । जबकि घटना तल्ला तहको कर्मचारीको मिलेमतोमा नभई माथिल्लो तहकै व्यक्तिको आदेशबमोजिम गरिएको भन्ने रहस्य बाहिर आएपछि माथिल्लो व्यक्तिलाइ छाड्ने र तल्ला तहलाई फसाउने जस्तो देखिएको छ । तैपनि सीआइबीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रधान र तिमिल्सिनाको सम्बन्ध

यस प्रकरणका बिरामी भई पक्राउ नपरेका प्रधान र बैंकका सिइओ तिमिल्सिनाबीच घनिष्ठ सम्बन्ध रहेको सीआइबीको अनुसन्धानमा थाहा हुन आएको छ । सिइओ तिमिल्सिना सेञ्चुरीमा रहँदा त्यहाँ घटेको डलर काण्डमा प्रधानले बचाएका थिए। एउटै कोठामा कुनै बेला ‘रुममेट’ भएर अध्ययन गरेका प्रधान र तिमिल्सिना दुवैले फिलिपिन्सबाट सँगै एमबीए गरेका छन् ।

यसरी दुईबीचमा घनिष्ठ सम्बन्ध रहेकै कारण प्रधानले ल्याएको योजनालाई तिमिल्सिनाले इन्कार गर्ने कुरा भएन र सजिलै उक्त योजना पारित भएको देखिन्छ ।

ठूला उम्किँदै, साना फस्दै

यस प्रकरणमा अहिले ठूला उम्किन खोज्ने र सानाकै गल्ती देखाउन खोजिएको ‘सेटिङ’ पनि देखिन्छ । सिइओ तिमिल्सिना अहिले आफूलाई बचाउन राजनीतिक स्तरमा ठूलै चलखेल गरेका छन्, जसका कारण उनी अहिलेसम्म पनि पक्राउ नपरेको बताइएको छ ।

उता, भ्यालुएटर्स एशोसिएसनले भने यसमा साना अथा जग्गा मूल्यांकन गर्ने इन्जिनियरहरुको कुनै गल्ती नभएको र यसमा बैंकको माथिल्लो तहका व्यक्तिको संलग्नता रहेको भन्दै पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

सोझो तरिकाले नै हेरौँ न, १९ करोड रकम भनेको सानो तिनो रकम होइन । र, उक्त रकम प्रवाह गर्नका लागि बैंकको तल्लो तहको कर्मचारीको आँटले भ्याउने कुरै भएन ! तर, अहिले विभिन्न योजना बनाएर माथिल्ला तहका कर्मचारी उम्किने र साना कर्मचारीलाई फसाउने योजना बुनिएको पनि बताइएको छ ।

राष्ट्र बैंकले पनि थाल्यो अनुसन्धान

सीआइबीसँगै नेपाल राष्ट्र बैंकले कुमारी बैंकमा किर्ते कागजात बनाएर ऋण प्रवाह भएको खुलासा भएपछि आफ्नो अनुसन्धान अघि बढाएको छ । अहिले राष्ट्र बैंकको टोली स्थलगत निरीक्षणमा रहेको जानकारी दिइएको छ ।

राष्ट्र बैंकले स्थलगत निरीक्षणपछि एक सातामा प्रतिवेदन तयार गर्नेछ । र, प्रतिवेदन सार्वजनिक गरिनेछ ।

गायक अमात्य तीन छक्क

आफ्नो जग्गाको लालपूर्जा आफैँसँग छ तर, करोडौँ रकम निकालेर ठगी धन्दा चलाइएको थाहा पाए पछि सीआइबीमा उजुरी दिएका गायक अमात्य यस घटनाबारे अझैँ आश्चर्यचकित छन् । उनका अनुसार आफ्नो १२ बिघा जग्गाको मूल्यांकन १ अर्बको तर, बैंकले १९ करोड ऋण प्रवाह गरेको छ ।

जग्गाको मूल्यांकन कसरी भयो ? भन्नेमा आश्चर्य व्यक्त गर्ने उनको द्वोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग छ । र, यस विषयमा उनले धेरै कुरा बोल्न नचाहेको बताए ।

याे पनि :

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्ने कुमारी बैंकका ४ कर्मचारी पक्राउ

कुमारी बैंकका दुई कर्मचारीको जग्गा धितोमा राखियो, गायक योगेश्वर अमात्यको जग्गा सुरक्षित

प्रतिक्रिया दिनुहोस्

LIVE TV