
सुनौला नहरहरू, गुलाबी साहिल सागर र मनमोहक नुन खानीहरू । इरानको जजीरा होर्मुज नामक एक रंगीन भूमि (टापु)को यो मनमोहक दृश्यले स्वर्गकै झल्को दिन्छ ।
यस टापुलाई ‘जियोलोजिस्ट (भूगर्भ वैज्ञानिकहरु)को डिज्नील्यान्ड (वाल्ट डिज्नीका चलचित्रमा वर्णित पात्र र कथाहरूमा आधारित एउटा ठूलो मनोरञ्जनात्मक पार्क)’ समेत भन्ने गरिन्छ ।
हामी (बिबिसी रपोर्टर) दक्षिणी इरानको होर्मुज टापुको तटमा रातो पहाडको फेदमा उभिरहेका थियौँ । त्यतिबेला मेरो टुर गाइड फरजादले भने, ‘तिमीले यहाँकाे माटोको स्वाद लिनुपर्छ ।’
यो अग्लो पहाडको रातो छायाले साहिल सागर र पानीका छालहरुलाई समातिरहेको जस्तो लाग्थ्यो ।
मेरो मन एक प्रकारले आतंकित थियो- गाइडले यस माटाे (भूमि)काे स्वाद लिनुस् भनेकाे कुराले । र पनि फरजादको सल्लाह पालन गर्नेबारे सोचेँ । तर अझै पनि म रहस्यमय र खनिजहरुले भरिएको यस भूमिको दृश्यबारे अनविज्ञ थिएँ ।
पर्सियन खाडीले बनाएको संरचना
हर्मुज जजीरा टापु इरानको तटबाट आठ किलोमिटर टाढा पर्सियन खाडीको नीलो पानीको बीचमा अवस्थित छ । आकाशबाट हेर्दा मानौँ आँसुको थोपाजस्तै देखिन्छ।
सिंगो नुनको ढिस्को या पहाड मानिने यो टापु विभिन्न ढुङ्गा, माटो र फलामयुक्त ज्वालामुखी चट्टानहरूले निर्मित छ । जो रातो, पहेँलो र सुन्तला रंगहरूमा चम्केको देखिन्छ ।
यहाँ ७० भन्दा बढी प्रकारका खनिजहरू पाइन्छन् । यो ४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस टापुका प्रत्येक इन्चले यसको संरचनाको बेग्लै कथा बताउँछन् ।
विगतमा इरानमा रहेर काम गरेकी डाक्टर क्याथरिन गोडिनोभ अहिले ब्रिटिश जियोलोजिकल सर्भेकी प्रमुख भूवैज्ञानिक छन् । उनका अनुसार पर्शियन खाडीका उथलपुथलयुक्त समुद्रहरूले लाखौं वर्षअघि यो नुनको बाक्लो तह बनाएका थिए ।
कसरी बन्यो नुनको ढिस्को ?
ती नुनका तहहरू खनिजहरूले भरिएका ज्वालामुखी चट्टानहरूसँग टकराए र तिनीहरूको संयोजनले यस्तो रंगीन भूभाग उत्पन्न भयो ।
डा. गोडिनोभ भन्छिन्, ‘पछिल्लो ५० करोड वर्षको अवधिमा नुनका सतहहरू ज्वालामुखीका तहतहभित्र दबिँदै गए ।
पानीको सतहमा नुन सजिलै तैरिन सक्ने भएकाले समयक्रममा उक्त नुन चट्टानका दरारहरूबाट बाहिर निस्कन थाल्यो र सतहमा पुगेर नुनको ढिस्को बन्यो ।
फारसको खाडी (पर्सियन खाडी) का अधिकांश भागमा जमिनमुनि नुनको बाक्लो तह रहेको उनको भनाइ छ । यस भौगोलिक प्रक्रियाले सुनौला धारहरू, राता समुद्री तटहरू र मनमोहक नुन खानीहरूको सिर्जना गरेको उनको अध्ययनले बताएको छ ।
संसारको एक मात्र ‘खान सकिने पहाड’
हर्मुजलाई वास्तवमा ‘इन्द्रेणी टापु’ भनिन्छ । यसो भन्नुका पछाडि यही असामान्य रंगहरूको सुन्दर संयोजनले बनेको भूमि भएर हो ।
तपाईलाई एउटा कुरा था छ कि छैन ? यस टापु (पहाड)लाई संसारको एक मात्र खान सकिने पहाडको रुपमा पनि चिनिन्छ । त्यसैले त टुर गाइडले मलाई यसको स्वाद लिन सल्लाह दिएका थिए । नूनको खानी भएकाले यसलाई खान सकिने भएको हो ।
गेलिक भनिने यस पहाडको रंगीन माटो हेमाटाइट नामक तत्वका कारण यस्तो रंगीन देखिन्छ । टापुको ज्वालामुखी चट्टानमा पाइने आइरन अक्साइडका कारण यस्तो भएको अध्ययनहरुले बताएका छन् ।
यो औद्योगिक उद्देश्यका लागि बहुमूल्य खनिज मात्र होइन, यसले स्थानीय खानाका परिकारहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
यहाँको माटोलाई खानामा मसलाको रूपमा प्रयोग गरिन्छ । यसको स्वाद माटोको करी (तरकारी)जस्तै हुन्छ र स्थानीय डबल रोटी ‘टोमासी’सँग अझ राम्रो स्वाद लिन सकिन्छ ।
रङकाे रूपमा प्रयाेग
टोमासीको अर्थ हो– कुनै चीज धेरै हुनु । फरजादकी पत्नी मरियम भन्छिन्– यहाँको रातो माटो चटनीको रूपमा प्रयोग गरिन्छ । यो चटनीलाई सुर्ख भनिन्छ र डबल रोटी पकाउने क्रममा त्यसमाथि लपेटिन्छ ।
खानाका लागि प्रयोग हुने बाहेक स्थानीय कलाकारहरूले पेन्टिङ (चित्र) बनाउँदा पनि यो रातो माटोलाई रङको रुपमा प्रयोग गर्छन् । मानिसहरू यसबाट आफ्ना लुगाहरू समेत रंगाउँछन् र सेरामिक्स सामान तथा कस्मेटिक्स सामान बनाउने काममा पनि प्रयोग हुन्छ ।
नुनकी देवी र सकारात्मक प्रभाव
यो रातो पहाड बाहेक होर्मुज टापुमा धेरै कुराहरू हेर्न सकिन्छ । टापुको पश्चिममा ‘नुनकी देवी’ नामक भव्य नुन पहाड छ ।
एक किलोमिटरमा फैलिएको यस पहाडका भित्ताहरू र गुफाहरू चम्किलो नुनका क्रिस्टल (मणि आकार) ले भरिएका छन्, जुन हेर्दा संगमरमरको दरबारका ठूला स्तम्भहरू जस्तै देखिन्छन् ।
यो नुनमा एक अनौठो शक्ति रहेको स्थानीयवासी बताउँछन्, जसले नकारात्मक प्रवृत्ति र विचारलाई सोस्ने र हटाउने गर्छ ।
मेरो टुर गाईडले मलाई यहाँ हिड्नका लागि मेरो जुत्ता फुकाल्न सल्लाह दिए, ताकि मेरो खुट्टाले नुन छोएर हिँड्न सकियोस् । उनले मलाई भने, ‘यहाँ नुनले शरीरमा सकारात्मक प्रभाव पार्छ ।
(मिस्बाह मन्सूरीले बिबिसीका लागि तयार पारेकाे याे स्थलगत स्टाेरी न्यूज २४ नेपालका लागि बिबिसी हिन्दीबाट राजेन्द्र तारकिणीद्वारा अनुदित)