
लखनऊ (भारत) । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको पूर्व मन्त्री गायत्री प्रजापति र उनका दुई सहयोगीलाई बलात्कारको आरोपमा जन्मकैदको सजाय सुनाइएको छ । शुक्रबार लखनऊको ‘एमपी–एमएलए अदालत’का विशेष न्यायाधीश पवन कुमार राईको इजलाशले पूर्वमन्त्री प्रजापति र उनका दुई जना सहयोगीलाई जन्मदैकको फैसला सुनाएको हो ।
समाजवादी पार्टीको सरकार हुँदा गायत्री प्रजापति खानी मन्त्री बनेका थिए । दोषी ठहर भएका तीनै जनालाई २–२ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ । उक्त जरिवाना रकम पीडित महिलाको पुनस्र्थापनामा खर्च गरिने बताइएको छ ।
खानी मन्त्री हुँदा गायत्री प्रजापति र उनका अन्य सहयोगीहरू चित्रकूटकी एक महिलालाई सामूहिक बलात्कारको प्रयास गरेका थिए । त्यति मात्रै नभएर उनकी नाबालिग छोरीलाई पनि यौन दुव्र्यवहार गरेपछि उनीहरु सामूहिक बलात्कार र पोक्सो ऐनअन्तर्गत दोषी ठहर भएका छन् ।
अदालतले गायत्री प्रजापतिका अन्य दुई सहयोगी आशिष शुक्ला र अशोक तिवारीलाई पनि दोषी ठहर गरेको छ । आशिष र अशोक दुवैलाई जन्मकैदको सजाय सुनाइएको छ । तर, अदालतले तीन जनालाई दोषी ठहर गरेता पनि प्रजापतिका अन्य सहयोगी अमरेन्द्र सिंह उर्फ पिन्टु, चन्द्रपाल र रुपेश्वर उर्फ रुपेशलाई भने सफाइ दिएको छ ।
चन्द्रपाल गायत्री प्रजापतिका बन्दुकधारी थिए, भने अन्य सबै अभियुक्त उनका नजिकका सहयोगी रहेका छन् । पीडित महिलाले उनीहरु सबै जनामाथि सामूहिक बलात्कारको आरोप लगाएकी थिइन् ।
यस घटना लखनऊको गौतमपल्लीस्थित मन्त्रीको सरकारी निवासमा भएको थियो । सर्वोच्च अदालतको हस्तक्षेपपछि मात्रै एफआईआर दर्ता भएको र आरोपीहरूलाई पक्राउ गरिएको थियो । सर्वोच्च अदालतको आदेशपछि कडा दबाबका साथ अखिलेश यादवको सरकारमा खानी मन्त्री रहेका गायत्री प्रजापतिविरुद्ध २०१७ मा एफआईआर दर्ता भएको थियो ।
त्यतिबेला उत्तर प्रदेशमा विधानसभा चुनाव चलिरहेको थियो । गायत्री प्रजापति र अखिलेश यादवमाथि सरकार रहँदामा पनि खानीमा धाँधली गरेको गम्भीर आरोप लागेको छ । अप्रिल २०२१ मा, प्रवर्तन निर्देशनालय अर्थात ईडीले उनको करोडौंको सम्पत्ति जफत गरिसकेको छ ।