२६ कार्तिक २०७८, शुक्रबार

एजेन्सी । विकिलिक्सका संस्थापक जुलियन असान्जले बेलायतको लण्डनस्थित बेलमार्श जेलमा आफ्नी पार्टनर स्टेला मोरिससँग विवाह गर्ने अनुमति पाएका छन् । असान्ज र स्टेलाका दुई सन्तान छन्, जसको नाम ग्याब्रिएल र माक्र्स हो । स्टेलाका अनुसार उनीहरु दुवै जना असान्जको इक्वेडोरको दूतावासमा रहँदा जन्मिएका थिए ।

कारागारका अधिकारीहरूले असान्जको निवेदनलाई कारागारका गभर्नरले ‘नियम अनुसार’ विचार गरेको बताएका छन् । कारागारका प्रवक्ताले भनेका छन्, ‘हामीले जुलियन असान्जको निवेदन प्राप्त गरेका छौँ र उनको निवेदनलाई सामान्य कैदीको निवेदनलाई विचार गरिएझैं विचार गरिएको छ ।’

स्टेला मोरिसले प्रेस एसोसिएसन समाचार एजेन्सीलाई भनेकी छन्, ‘आशा छ कि विवाहमा अब कुनै किसिमको हस्तक्षेप हुनेछैन । विवाह ऐन, १९८३ अन्तर्गत कैदीहरूले विवाहको सम्पूर्ण खर्च आफैले व्यहोरेमा मात्र जेलमा विवाह गर्न पाउनेछन् ।

दक्षिण अफ्रिकी मूलकी वकिल स्टेला मोरिसले गत वर्ष मेल अनलाइनसँगको अन्तर्वार्तामा आफूले सन् २०१५ देखि असान्जसँग सम्बन्धमा रहेको र आफ्ना दुई सन्तानलाई एक्लै हुर्काइरहेको बताएकी थिइन् । विकिलिक्सको युट्युब च्यानलमा पोष्ट गरिएको भिडियो सन्देशमा स्टेलाले भनेकी छन्, ‘असान्जसँग उनको पहिलो भेट २०११ मा भएको थियो ।’

त्यतिबेला उनी विकिलिक्स कानूनी टोलीको सदस्य बनेकी थिइन् । मोरिसले असान्जलाई दिनहुँ दूतावासमा भेट्ने गर्दथिन् र यस अवधिमा उनले असान्जलाई राम्ररी चिनेकी थिइन् । सन् २०१५ मा दुवैको प्रेममा परेको थियो, जसको दुई वर्षपछि उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

जुलियन असान्जले भिडियो लिङ्क मार्फत् दुवै बच्चाको जन्म भएको देखेको स्टेलाले बताएकी छन्, त्यसपछि उनीहरूलाई असाजसँग पुनर्मिलन गर्न दूतावासमा पनि लगेकी बताइएको छ । ५० वर्षीय असान्जलाई जासुसीको आरोप लागेको छ । हाल उनी अमेरिकामा सुपुर्दगीसँग सम्बन्धित मुद्दा लडिरहेका छन् ।

अफगानिस्तान र इराक युद्धसँग सम्बन्धित हजारौं कागजातहरू विकिलिक्समा देखा परेपछि अमेरिकाले असान्जलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी सङ्कलन र प्रकाशित गर्ने षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाउन चाहेको छ ।

अप्रिल २०१० मा विकिलिक्समा प्रकाशित जानकारीमा अमेरिकी सैनिकहरूले इराकमा हेलिकप्टरबाट नागरिकहरूलाई गोली हानेको फुटेज समावेश गरिएको छ । त्यस्तै असान्जले स्वीडेनमा यौन अपराधको मुद्दामा सुपुर्दगी हुनबाट बच्न सन् २०१२ मा लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएका थिए । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV