२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । वन्यजन्तुको आक्रमण हुने खतरा देखिएपछि चितवनको बाघमारा चौरमा हुने भनिएको नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन होटेल सेभेनमा सारिएको छ ।

मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरेर परिवर्तन गरिएको जानकारी दिएका हुन् ।

वन्यजन्तुको आक्रमण हुने खतरा भए पनि एमालेले महाधिवेशनको लोगो भने गैंडाको मस्कट राखेको छ । र्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो शुक्रबार सार्वजनिक गरेका हुन् ।

गैंडाको लोगो किन ?

महाधिवेशनका लागि भनेर एमालेले एकसिंगे गैंडाको मस्कट सहितको लोगो तयार गरेर सार्वजनिक गरिसकेको छ । लोगोमा गैंडाको मस्कटले कम्युनिष्ट पार्टीको झण्डा समातेर उचालेको स्पष्ट देखिन्छ ।

गैंडाले पार्टीको झण्डा समात्नुको अर्थ के ? भन्ने प्रश्नमा महाअधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई भन्छन्, ‘चितवनलाई पर्यटकीय दृष्टिले चिनाउनका लागि गैंडाले पार्टीको झण्डा समाएको लोगो तयार पारिएको हो ।’

महाधिवेशनका लागि भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग नहुने संयोजक भट्टराईले बताएका छन् । उनका अनुसार डिजिटल डिस्प्लेहरुमार्फत महाधिवेशनको प्रचार प्रचार गरिनेछ ।

मुख्य सडक तथा अन्य सडकहरुम स्वागतद्धार निर्माण गरिने र मंसिर ७ गते मोटरसाइकल र्‍याली हुने पनि उनले बताए ।

महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा गरिँदैछ भने बन्द सत्र मंसिर ११ र १२ गते सौराहामा हुने भएको छ । बन्द सत्रमा भोटिङका लागि १०० विद्युतीय उपकरण प्रयोग गरिने पनि जनाइएको छ ।

महाधिवेशनका लागि भनेर १५० वटा होटलहरु बुकिङ गरिने भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV