२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौँ । नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमै धर्ना दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएको बारले आज पनि मूल गेटमा धर्ना दिएको थियो ।

तर आज धर्ना छल्दै प्रन्या जबरा पछाडिको गेटबाट अदालत प्रवेश गरेका थिए । बारको नेतृत्वमा हिजोदेखि धर्नासहितको विरोध प्रदर्शन जारी छ ।

आजको विरोध सभालाई सम्बोधन गर्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना जारी राख्ने बताए । उनले प्रधानन्यायाधीशलाई भित्र छिर्न नदिनेगरी धर्ना जारी राख्ने बताए । यसका लागि आइतबार नेपाल बारबाट सर्वोच्च अदालत प्रवेश गर्ने गेट बन्द नगर्न सुरक्षाकर्मीहरुसामु आग्रह पनि गरे ।

शान्तिपूर्ण रुपमा धर्ना तथा प्रदर्शन गर्न पाइने भए पनि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर आफूहरुलाई सडकमा निस्कन बाध्य पारेको उनको भनाइ थियो ।

LIVE TV