२६ कार्तिक २०७८, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छाड्दै पूर्व महामन्त्री प्रकाशमान सिंहले नयाँ प्यानल बनाउने भएका छन् ।

पौडेल समूहका प्रभावशाली नेता मानिएका सिंह पार्टीको आसन्न महाधिवेशनमा आफ्नै प्यानल बनाएर पार्टी सभापतिमा उठ्ने तयारीमा छन् । उनले नेता पौडेलले बोलाएको बैठक समेत बहिस्कार गरेको स्रोतको भनाइ छ । नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् ।

सिंहले साथ छोडेसँगै अब पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने सम्भावना समेत सकिएको छ । अघिल्लो १३ औं महाधिवेशनमा पौडेलले सभापतिमा लड्दा सिंह प्रस्तावक रहेका थिए, यसपालि भने यी दुई नेताबीचको दूरी बढेको छ ।

नेता सिंह आफै अघि बढ्ने तयारीमा रहेको उनीनिकट स्रोतको भनाइ छ । पछिल्लो समय उनले अब पुरानो पुस्ताका नेता देउवा र पौडेल दुवैले पार्टी चलाउन नसक्ने बताउँदै आएका थिए ।

LIVE TV