२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । भारतीय मालवाहक गाडीका कारण नेपाली ट्रक व्यवसायीहरु पलायन हुने अवस्था पुगेका छन् । ओभरलोड बोकेर निर्बाधरुपमा भारतीय मालबाहक गाडीले सामान ओसार–पसार गरिरहेको भन्दै नेपाल ट्रक यातायात व्यवसायीहरूले पटक–पटक आन्दोलन समेत गर्दै आइरहेका छन् ।

यातायात व्यवस्था ऐन २०४९ मा विदेशी सवारी साधनले नेपालमा कुनै पनि व्यवसायिक क्रियाकलाप गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । तर पनि भारतीय मालबाहक गाडीहरूले ७२ घण्टे पूर्जी बनाएर भारतबाट मालसामान अनलोड गरेपछि पनि राजधानीबाट पुनः मालसामान लोड गरेर निर्वाध रूपमा लगिरहेका छन् ।

नेपाल–भारत बीचको १९५० को पारवहन सन्धिलेले भारतीय सवारी साधनहरूले नेपालमा समान ल्याउन सक्छ तर, ओसार–पसार गर्न पाउँदैन भनी सन्धी गरेको थियो । यसले नेपाली ट्रक व्यवसायीहरूलाई ठूलो नोक्सान व्यहोर्नु परेको छ ।

यातायात व्यवसायीहरूले भारतबाट सामान बोकेर आएका सवारी साधनले पुनः राजधानीबाट सामग्री लोड गरेको अवस्थामा यूपी४०एपी ०५२५ नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिएका थिए । साथै, अबदेखि नबोक्ने सर्तमा सम्झाई बुझाई गरी उक्त ट्रकलाई पठाइएको नेपाल ट्रक यातायात ब्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले बताए ।

उनले भने, ‘सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्ने हो । तर पटक–पटक अनुरोध गर्दा समेत वास्ता नगरेपछि हामी यातायात व्यसायीहरु मारमा पर्दै आइरहेका छौं ।’

उनले थप भने, ‘भारतले प्रतिबन्ध गरेको २० वर्ष पुराना गाडीले क्षमता भन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायीहरु प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन् । हामी भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न सक्दैनौ । न्यून लागतमा भारतीय गाडीले नेपालभरी निर्वाधरुपमा ओभरलोडसहित ढुवानी गर्दा हामी यातायात व्यवसायीहरु बेरोजगार हुनपर्ने अवस्था आएको छ ।’

नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने र भारतीय ट्रकबाट झिनो रकम जरिवाना लिएर ओभरलोड चलाउन थालेपछि अरबौंको पूर्वाधार मासिदै गएको उनको भनाइ छ ।

जुनसुकै देशको सवारीसाधान नेपाल आए यहाँको कानूनलाई मान्नुपर्ने भएतापनि दैनिक रुपमा भारतीय गाडी सेटिङको रुपमा ७२ घण्टाको नाममा नेपाल प्रवेश गरेर ओभरलोड बोकेर देशभर घुमिरहेको महासंघको आरोप छ ।

ओभरलोड नबोकी नेपाल आएका गाडीसँग केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्नसक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने नेपाल ट्रक यातायात ब्यवसायी महासंघका महासचिव बानियाँले बताए ।

मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोड सम्बन्धी प्रचलित कानून अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दूमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नवीकरण तथा दर्ता नगर्ने, दुर्घटना बीमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्ने लगायतका व्यवस्था रहेको छ ।

मापदण्ड विपरीत ओभरलोड बोकेका सवारी साधन चल्दा पनि सरकारले कारवाही नगर्नु लज्जास्पद भएको उनको टिप्पणी गरे । ७२ घन्टा मात्रै चल्न पाउने मालवाहक ट्रक बढी समयसम्म गुड्दा पनि प्रहरी मुकदर्शक बनेको व्यवसायीहरुको आरोप छ ।

‘भारवहन कार्यविधि अनुसार ६ चक्के ट्रकले नौ दशमलव ६ टन, दश चक्के ट्रकले १६ दशमलव पाँच टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले ३० टन सम्म बोक्न पाउने व्यवस्था छ । तर अहिले ट्रकहरुले सो प्रावधान भन्दा दोब्बर तेब्बर माल सामान बोकिरहेका छन्, कारबाही खोइ ?’, महासचिव बानियाँले भने ।

नेपालमा मालवाहक सवारी साधनहरुले ९.६ देखि अधिकतम २५ टनसम्म मात्रै मालसमान ढुवानी गर्न पाउने कानूनी व्यवस्था छ । तर, यो नियम भारतीय मालवाहक सवारीको हकमा लागू हुन सकेको छैन ।

देशका विभिन्न नाकाबाट दैनिक ६० हजार बढी भारतीय मालबहाक ट्रकहरु नेपाल भित्रने गरेको र जसको सिधा असर नेपाली व्यवसायीहरुमा परेको ब्यावसायिहरुले बताएका छन् । हाल मुलुकभर ट्रकको सङ्ख्या ५८ हजार रहेको छ ।

भारतीय मालवाहक सवारीसाधनका कारण ३०५ ट्रकहरू अहिले विस्थापित नै बनिसकेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV