२५ कार्तिक २०७८, बिहीबार
  • बाल बिक्रम कार्की

रौतहट । रौतहट जिल्लामा छठ पर्व आज (बिहीबार) उदाउँदो सूर्यलाई अर्घ दिएर धुमधामसँग समापन गरिएको छ । दुलहीझैँ सिंगारिएका यहाँ नदि, ताल, तलैया, पोखरीमा निमार्ण गरिएका छठ घाटमा गएर श्रदालुहरुले उदाउँदो सूर्यको पुजा गरेका छन् ।

नयाँ डालोमा ठेकुवा, कसार, उँखुको टुक्रा, नरिवल, केराउ, अक्षता, केरा, निबुआ, मूला, अन्य फलफूल, अदुवा लगायत दर्जनौँ सामग्री राखेर छठ घाटमा पुगेका ब्रतालु एवम् श्रदालुहरुको बाक्लो उपस्थितिले छठको रौनक बढाएको थियो ।

कोरोना कहर नसकिएको भन्दै स्थानिय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपनि यहाँका छठ घाटहरुमा उल्लेख्य संख्यामा ब्रतालु तथा सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।

ब्रतालुहरुले समुहमा बसेर गाएका छठी माई र सूर्यदेवसित सम्बन्धित भजनहरुले छठको उल्लासमा थप रौनक थपेको थियो । ब्रतालुहरुले सूर्य उदाँउन थालेपछि जलाशयको जललाई छोएर सूर्यलाई अर्घ दिने दिएको दृश्य निकै मनमोहक थियो ।

छठघामा सबै उमेर समुहका मानिसहरुको उत्साहजनक सहभागिता रहेको थियो । बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर अधिकांस ब्रतालुहरुले आज बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएर छठ ब्रतको समापन गरेका थिए । ब्रतको समापनपछि छठको प्रसाद साटासाट गर्ने, एकअर्कालाई तेल लगाउने, गाजल लगाउने, कोसेली साटासाट गर्ने चलन रहेको छ । यस दिनलाई पारन भनिन्छ ।

व्रतको समापन भएपछि छठको कोसेली दिदीबहिनीकहाँ दाजुभाइले लिएर जाने चलन रहेको स्थानिय शिक्षक किशुन दयाल यादवले बताउनुभो । ‘छठमा चढाइएको प्रसाद दिदीबहिनीकहाँ अनिवार्य रुपले लैजाने चलन रहेको छ’ उहाँले भन्नुभयो’ ‘ छठ पवनी नगर्ने घरपरिवारबाट पनि छोरी वा दिदीबहिनीकहाँ कोसेली लैजाने चलन छ । संस्कृतिकै सबैभन्दा ठूलो महापर्व र आस्थाको महामेला हुने भएकोले कोसेलीलाई पनि उत्सवकै एउटा अंगको रुपमा लिइन्छ ।’

छठ पर्व नहाखाएके, खरना, सँझियाघाटे र भिनहियाघाटे गरी चार दिनसम्म मानिन्छ । निक्कै सशक्त अनुशासन र उच्च निष्ठा तथा श्रद्धाका साथ मनाइने छठ पबनीको पहिलो दिन व्रतालुहरुले आँपको दतिवनले दाँत माझी स्नान गरेर मात्र खाना खान्छन् । संचारकर्मी सजय साह ‘मित्र’ का अनुसार यसदिन दाँत माझ्दा कुनै पेस्ट वा मन्जनको प्रयोग गरिँदैन, स्नान गर्दा कुनै साबुन दल्नु हुँदैन र खाना खाँदा हरेक दृष्टिले पूरै चोखो तथा शाकाहारी हुनुपर्छ । स्नान गरेपछि पूर्णतया व्रतको नीति, नियम र निष्ठामा आस्थावान रहनु पर्दछ । छठको दोस्रो दिन खरना हुन्छ ।

तिथिको दृष्टिले कात्तिक शुक्ल पञ्चमीको दिनलाई खरना भनिन्छ । खरनाको दिन दिनभर पूर्णतया निराहर व्रत बसिन्छ । मुखमा पानीसमेत हाल्न नहुने र थुक पनि निल्न नहुने मानिएको अत्यन्त कडा नियमको ब्रत बसेर साँझ हरेक ब्रतालुको घरमा खरना गरिने संचारकर्मी साहले जानकारी दिए । सो दिन नयाँ चुलोमा खरनाको सामग्री पकाइन्छ । खरनामा चामलको रोटी, खिर, मूला र फलफूलका साथै अन्य केही खाद्यपदार्थ चढाइन्छ । छठको तेस्रो दिन जलाशयमा गएर अस्ताउँदो सूर्यलाई र चौथोदिन पुनः जलाशयमै गएर उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गर्ने प्रचलन रहेको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । ब्रतालुहरुले आफुले मनले चिताएको कुरा पुरा हुने र परिवारमा सुख , शान्ति रहिरहोस् भनेर छठको ब्रत लिने गरेको बताउँछन् । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्म रोग निको हुने जनविश्वास रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV