२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न अस्वीकार गरेका छन् ।

महासचिव लिलामणि पौडेलसहितका ६ जना अधिवक्ताहरूमाथि प्रहरीले लछार–पछार गरेको भन्दै आक्रोशित बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो ।

प्रधानन्यायाधीश जबराले अध्यक्ष श्रेष्ठलाई भेट्न बोलाएपनि उनले आफू एक्लै नजाने अडान लिएका छन् । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध आक्रामक अभिव्यक्ति दिएको केही समयपछि जबराले अध्यक्ष श्रेष्ठलाई भेट्न भन्दै प्रहरीमार्फत खबर पठाएको बताइएको छ ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा अब नागरिक पनि आउनुपर्ने भन्दै आह्वान गरेका थिए । उनले भोलि अदालत ठप्प पार्ने र बेन्च बहिष्कार गरिने जनाएका थिए ।

उनले भनेका छन्, ‘अब हामी सबै कस्सिएर लागौं । हामी सम्पूर्ण नेपाली नागरिकहरु अगाडि बढौं । हामी सडकबाट होइन, हामी न्यायापालिकाभित्रबाट त्यसलाई हटाउनका लागि, हटाउन मात्र होइन, भाग्न सक्छ ।’

उनले थप भनेका छन्, ‘उसले अन्त जग्गा जोडिसकेको भन्ने पनि खबर आएको छ । हामी छोड्नेवाला छैनौं । उसले राजीनामा दिएर मात्र केही हुनेवाला छैन । उसले आजको दिनमा राजीनामा दिएमा भोलिबाट उसको सम्पत्ति जफत गर्ने काममा हामी सबै लाग्नेछौं ।  चोलेन्द्र समशेर जबरा राजीनामा दे ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV