२५ कार्तिक २०७८, बिहीबार

काठमाडाैँ ।  ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ शुभारम्भ गरिएकाे छ । पशुपतिनाथ मन्दिरका मूल भट्टको उस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले पशुपतिनाथ मन्दिरबाट  र्‍यालीकाे शुभारम्भ गरेका हुन् ।

र्‍यालीमा भारतीय र नेपाली गरी करिब ५० जना मोटरसाइकल प्रेमीहरुको सहभागिता रहेकाे जनाइएकाे छ । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने  र्‍यालीको उद्देश्य रहेको बताइएकाे छ । साथै दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि  रहेको छ ।

कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्ध रहेको बताए । उनले मोटरसाइकल -यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना पनि दिए ।

भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताए ।

सो -यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् । यात्राका क्रममा -याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्ने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV