२५ कार्तिक २०७८, बिहीबार

एजेन्सी । जलवायु सहकार्यलाई तीव्रता दिनेबारे चीन र अमेरिकाबीच एउटा आश्चर्यजनक सहमति भएको छ । बेलायतको ग्लास्गोमा आयोजित कोप२६ जलवायु सम्मेलनमा चीन र अमेरिकाबीच आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति भएको बीबीसीले जनाएकाे छ ।

जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ को पेरिस सम्झौताअनुसार विश्व तापमान १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने लक्ष्य प्राप्तिका लागि प्रतिबद्धता जनाउँदै सहकार्य गर्ने दुबै देशले जनाएका छन् ।

लक्ष्य प्राप्तिका लागि देखिएको खाडल पुर्नसमेत दुबै देशहरुले आह्वान गरेका छन् । विश्व तापमानलाई १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न सकेमा जलवायु परिवर्तनको नकरात्मक असरबाट जोगिन सकिने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

सन् २०१५ मा सम्पन्न पेरिस सम्झौतामा अधिकांश देशले सन् २०५० सम्ममा विश्वको तापलाई १ दशमलब ५ डिग्री सेल्सियस तापक्रममा सीमित पारेर कार्बन उत्सर्जन कटौतीमा योगदान दिने बताएका थिए ।

जारी सम्मेलनमा चीनका प्रतिनिधि तथा प्रमुख वार्ताकार साई जेनहुवाले जलवायु परिवर्तनका विषयमा चीन र अमेरिकाबीच धेरै पटक वार्ता भएको जानाकारी दिए । संयुक्त कदमका लागि दुई देशले पछिल्लो १० महिनामा ३० भन्दाबढी भर्चुअल बैठक आयोजना गरेको उनले बताए ।

मिथेनलगायत काबर्नयुक्त ग्यास उत्सर्जनमा कमी गर्न दुई देशबीच विभिन्न विषयमा सहमति भएको उनले बताए ।

कार्बन उत्सजर्नको मुख्य कारक मानिएको मिथेन सिमित गर्न यसै साता गरिएको सम्झौतामा सहभागी हुन चीनले अस्वीकार गरेको थियो । सम्झौतामा करिव १०० देशले हस्ताक्षर गरेका थिए । सम्झौताबाट भारत पनि पन्छिएको थियो । मिथेन समस्या समाधान गर्न चीनले राष्ट्रिय योजना विकास गर्ने थप प्रतिबद्धता जनाएको छ ।

अमेरिकी प्रतिनिधि जोन केरीले जलवायु परिवर्तनसम्बन्धी सहकार्यका विषयमा अमेरिका र चीनबीच कुनै मतदभेद नभएको बताए । हरेक कदम अर्थपूर्ण हुने र दुबै देश जलवायु परिवर्तनलाई न्यून गर्ने लामो यात्रामा सहकार्य गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV