२५ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो एक आभिव्यक्तिलाई लिएर माफी मागेका छन् ।

उनले तनहुँमा गत सोमबार आयोजित एक कार्यक्रममा दिइएको अभिव्यक्तिको आलोचना भएपछि उनले माफी मागेका हुन् । उक्त अभिव्यक्ति कुनै समुदाय र जातिप्रति लक्षित नरहेको भन्दै मन्त्री श्रेष्ठले सबैप्रति आफ्नो सम्मान रहेको पनि बताए ।

उनले भनेका छन्, ‘मधेशी समुदाय र कुनै राजनीतिक दलको मर्यादामा आँच पुर्‍याउने मेरो कुनै मनसाय थिएन । मेरो भाषणमा असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने पूर्ववर्ती सरकारको प्रवृत्ति र प्रतिनिधिसभा विघटनपछि काम चलाउ हैसियतमा पुगेका बेला अमुक पार्टीको एउटा पक्षबाट ११ जनालाई मन्त्री बनाइएको कुरा स्मरण मात्र गरिएको हो ।’

मन्त्री श्रेष्ठले थप भनेका छन्, ‘मैले प्रयोग गरेका शब्दका कारण कोही कसैको भावनामाथि चोट पुगेको भए म त्यसप्रति आत्मआलोचित छु । मधेशीसहित देशका सबै जाति र समुदायप्रति मेरो उच्च सम्मान रहेको छ ।’

सोमबार तनहुँमा उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका थिए । उनले ओली प्रधानमन्त्री हुँदा दुई तिहाइको सरकार छाडेर उल्टै देश टुक्य्राउ भन्ने मधेसीहरूलाई मन्त्री बनाएको, र श्रीमान् तथा श्रीमतीलाई नै समेत आलोपालो अवसर दिएर मन्त्री पद खरिदारजस्तो बनाएको बताएका थिए ।

LIVE TV