२५ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजबाट हुन लागेको १२औं राष्ट्रिय जनगणनामा सही विवरण संकलन गरेर सहयोग गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय जनगणनाको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तथ्याङ्क संकलन गर्न खटिने सबै गणकहरुलाई सही विवरण संकलन गरेर सहयोग गर्न आग्रह गर्नुभएको हो ।

राष्ट्रको नीति निर्माणका लागि सूचना सङ्कलन गर्ने कार्य अपरिहार्य रहेको भन्दै यस्ता कार्यमा महत्वपूर्ण भूमिका खेल्न उहाँले आग्रह गर्नुभएको थियो । उहाँले जनगणनाले व्यक्तिको मात्रै गणना नगर्ने यसले देश विकासको समग्र मार्गचित्र पनि तय बताउनुभयो ।

यस पटकको जनगणनामा सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुन लागेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

‘गणनाकै विवरण अनुसार केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन् । ‘विगतमा हामी कुन अवस्थामा थियौँ,’ उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, ‘अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ।’

LIVE TV