२४ कार्तिक २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । विराटनगरवासीहरुले स्थानीय सिंगिया खोलालगायतका नहर र पोखरीहरुमा अस्ताउदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व भक्तिपूर्वक मनाएका छन् । कोरोना संक्रमण फैलिने डरले विराटनगरका केही स्थानीयहरुले आफ्नै घरमा पोखरी खनेर पनि छठ पर्व मनाएका छन् ।

उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ । विराटनगरको सिंगिया खोला, केशलिया खोला र नहर किनारमा श्रद्धालु भक्तजनहरुको दिउसै देखि भीड लागेको छ ।

तराईमा बसोबास गर्ने मधेसीहरु मात्र नभई छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्मावलम्बीहरुले पनि आपसी सौहार्दता र सद्भावपूर्वक मनाउने गरेका छन् । यो पर्वमा कुनै अवान्छनीय घटना हुन नदिन बाक्लो उपस्थितिमा सुरक्षाकमी खटाइएको छ ।

त्यस्तै धेरै भीडभाड नगर्न र अनिवार्य मास्क प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गरेर छठ पर्व मनाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

भोलि बिहान उदाँउदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन भएको मानिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV