२४ कार्तिक २०७८, बुधबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । कपिलवस्तुमा कोरोना महामारीका बीच पनि अस्ताउदो सूर्यलाई अघ्र्य दिएर हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ । कपिलवस्तु नगरपालिका–१ चपरतल्लास्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पूजाआजा गरी पर्व मनाइएको हो ।

यस्तै कृष्णनगर, बहादुरगञ्जलगायका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सूर्यको बिशेष पूजापठा गरी सामूहिकरुमा छठ पर्व मनाएका छन् । कोरोना महामारी कै बीच भक्तजनहरुले बिना मास्क र स्वास्थ्य मापदण्डको पालना नगरी सामूहिक रुपमा पूजापाठ गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले घर–घरमा पर्व मनाउन गरको आग्रहलाई उनीहरुले कुनै वास्ता गरेनन् । यद्यपी यस वर्ष भने गत वर्षको तुलनामा भक्तजनहरुको संख्यामा केही कम थियो । यसवर्ष कोरोनाले गर्दा भक्तजनको संख्या घटेपनि आस्था भने नघटेको पूजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए ।

भक्तजनहरु जम्मा भएर सामूहिक रुपमा पूजापाठ समेत गरेका थिए । पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयका सहभागी थिए । बिशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधना समेत गरेका थिए । छठमा उपबास बसी पूजाआजा गर्नाले पारिवार सुख समृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ ।

उनीहरुले उक्त नदीमा पूजा गरी प्रसादका रुपमा आज बासको सामग्रीमा अघ्र्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखुलगायतका परिकार चढाएका थिए । छठ पर्वका लागि पूजा ब्यवस्थापन समिति गठन गरी जमुहार र रामघाट नदीमा पूजाआजाका लागि बिशेष ब्यवस्था गरिएको छ ।

समितिले टेन्टलगायतका सामग्रीहरुको ब्यवस्था गरेको छ । चार दिनसम्म मनाइने छठ शनिबार बिहान संपन्न हुदैछ । बुधबार चोखो भोजन ग्रहण गर्ने, बिहीबार सूर्यास्तपछि एक छाक खाने, शुक्रबार अस्ताउदो र शनिवार उदाउदो सूर्यलाई अघ्र्य दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV