२४ कार्तिक २०७८, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वगृह मन्त्री खगराज अधिकारीले पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमालेले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारे ।

उनले भने, ‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन र महाभियोगको प्रस्ताव पनि ल्याउँदैन । यसबारेमा छलफल गर्ने अवस्था छैन । न्यायाधीशहरुले राजनीति गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्नु हुँदैन । न्यायालय पूर्वाग्रही हुनु हुँदैन । संविधानमा आधारित भएर चल्नुपर्छ । तर, यहाा त परमादेश दिँदा नै सेटिङ भयो ।’

उनले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको पनि टिप्पणी गरेका छन् ।

उनले भने, ‘परमादेशबाट बनेको सरकार हो, यो सरकारले संवैधानिक काम गर्छ भन्ने तपाईँहरुलाई विश्वास लाग्छ र ? सरकार त उल्टो अहिले दिशामा हिँडिरहेको छ । हाम्रो संविधानले समन्वय समितिको कल्पना गरेको छ त ? अनि अहिले गठबन्धनले बनाएको समन्वय समिति कसरी संविधासम्मत् भयो ? यो संविधानविपरित हो ।’

पूर्वगृह मन्त्री अधिकारीले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने पनि स्पष्ट पारे ।

उनले भने,‘अब पनि अध्यक्ष त केपी ओली नै हो नि, यसमा शंका छ र ? अध्यक्षमात्रै होईन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ । म दोहोर्याएर भन्न चाहन्छु कि मूलतः नेतृत्व सबै सहमति हुन्छ ।’

उनले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि स्मरण गराएका छन् । उनले एमाले देशको ठूलो पार्टी र लोकतान्त्रिककरणको च्याम्पियन रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV