२४ कार्तिक २०७८, बुधबार
  • बाल बिक्रम कार्की,

रौतहट । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको तयारी रौतहटलगातय तराई मधेशका जिल्लाहरुमा धुमधामसँग भइरहेको छ । कालिगढहरुले यहाँका नदि, ताल तलैया, पोखरीका किनारहरु दुलही जसरी सिंङ्गारिरहेका छन् । प्रत्येक वर्ष छठघाट निर्माण गरिएका स्थानहरु दुलहीझैँ सिङ्गारिएका छन् भने टेन्ट, झिलिमिली, मूर्ति, ध्वजा पताकालगायत वस्तुहरुले सजाएर झकिझकाउ परिन्छन् ।

छठघाट सजाउन कालिगढहरुलाई अहिले भ्याइनभ्याइको अवस्था रहेको छ । छठ घाटको सजावट र मूर्तिहरु निमार्ण गर्न भारतदेखिका कालिगढहरु आउने गरेका छठ पूजा समिति चन्द्रपुर अध्यक्ष सुरेन्द्र साहले बताए ।

अहिले ब्रतालुहरु छठकै लागि भनेर किनेको नयाँ डालोमा ठेकुवा, कसार, उँखुको टुक्रा, नरिवल, केराउ, अक्षता, केरा, निबुआ, मूला, अन्य फलफूल, अदुवालगायत दर्जनौँ सामग्री राखेर छठ घाटतिर गइरहेका छन् । छठ घाटहरु छठको भजनले गुन्जिएका छन् ।

ब्रतालुहरुले आज साँझ सूर्य अस्ताउन थालेपछि जलाशयको जललाई छोएर सूर्यलाई अघ्र्य दिएर अघ्र्य पुरानै ठाउँमा आएर बस्ने र साँझ परेपछि कतिपय ग्रामीण समुदायका घाटबाट घर फिर्ता आउँछन् भने अधिकांश ठाउँमा घाटमा नै रात बिताउने चलन रहेको स्थानीय संजय मित्रले जानकारी दिए ।

छठको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिइन्छ भने त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो ।

उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । ब्रतालुहरुले आफुले मनले चिताएको कुरा पूरा हुने र परिवारमा सुख, शान्ति रहिरहोस् भनेर छठको ब्रत लिने गरेको बताउँछन् । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्म रोग निको हुने जनविश्वास रहेको छ ।

ब्रतालुहरु सूर्य देवता तथा छठी माताको शक्तिमा आफूलाई ठूलो विश्वास रहेको बताउँछन् । छठ पर्वमा ब्रत गरे दुःख, दरिद्रताबाट मुक्ति पाउँदै ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको स्थानीय हरेन्द्र यादवको भनाइ छ । यदि कसैले छठको वर्ष बस्न नसक्ने भए अर्को ब्रत गर्नेलाई पूजाको सामग्री दिएर पूजा गराउने चलन पनि रहि आएको छ ।

छठमा निष्ठापूर्वक ब्रत बसेर विभिन्न मनोकामनाहरु पूरा होस् भन्दै गरेका भाकलहरु पूरा हुने जनविश्वास रहेको छ । यस पर्वमा खास गरी उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिने गरिन्छ । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा यस पर्वमा उपस्थित भई पूजा गर्नु भगवानको नजरमा सबै समान हुन् भन्ने सन्देश दिने गरेको छ ।

गरीब, धनी, ब्राह्मण, दलित, उच–निचको ख्याल नगरी यो पर्व एकै साथ मिलेर मनाइनु छठको मुख्य विशेषता हो । समाजमा रहेका छुवाछुत–जस्ता कु–संस्कार, कुरिती र विकृति हटाउन छठ सहायक सिद्ध स्थानीयको राम किशोर महतो बुझाइ छ । अरु पर्व तथा ब्रतमा जस्तो छठ पर्वमा पुरोहित वा पूजारीको आवश्यकतानै पर्दैन ।

सामुहिक रुपमा बसेका व्रतालुहरुले पूर्ण विधिविधानले स्वयं नै भक्तिभावका साथ चार दिनको पूजा सम्पन्न गर्छन । कुनै समय तराईवासी तथा मधेशी समुदायले मात्र मनाउने छठ पर्व अहिले आएर पहाडी समुदायले पनि उत्तिकै उत्साह पूर्वक मनाउन थालेका छन् ।

तराई तथा मधेशका क्षेत्रमा मात्र मनाइने यो पर्व हाल पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ ।
मधेसी समुदायको पर्व भनेर चिनेने छठ पर्वमा विगत केही वर्षदेखि पहाडी समुदायको पनि सक्रिय सहभागिता देखिन थालेको छ ।

उनीहरुपनि विधि पु¥याएर ब्रत लिन थालेका छन् । मधेशी समुदायका ब्रतालुुसँगै पहाडी समुदायका ब्रतालुहरुले पनि छठी घाटमा बसेर विधिपूर्वक उदाँउदो तथा अस्ताउँदो सूर्यलाई अर्घ दिएको आजकाल देख्न सकिन्छ । परम्परागत छठ पूजामा पछिल्लो समय आधुनिकता पनि मिसिदैँ गएको स्थानीयहरुको अनुभव छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सकेसम्म घरमै बसेर छठ पर्व मनाउन नभएपनि पूर्ण रुपमा स्वास्थ्य सुरक्षा अपनाएर मनाउन स्थास्थ्यकर्मीहरु सुझाउँछन् । सामुहिक रुपमा भेला भएर छठ पर्व मनाउँदा भौतिक दूरी कायम गर्नुपर्ने, सहभागीहरुले अनिवार्य मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने र सम्भव भएसम्म भीडभाड नगर्न स्वाथ्यकर्मी बलिराम साहले आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV