२४ कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ ।

यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पूर्ण रूपमा महाधिवेशनको तयारी केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा परिमार्जन नहुने भन्दै आउँदो मङ्सिर २४ गते महाधिवेशन उद्घाटन गरिने जानकारी दिनुभयो ।

काँग्रेसले महाधिवेशन प्रक्रियाअन्तर्गत राजधानीको भृकुटीमण्डपमा मङ्सिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि गरिसकेको छ ।

काँग्रेसले महाधिवेशन तयारीअन्तर्गत जिल्ला निर्वाचन सम्पन्न हुन बाँकी रहेका जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटबाहेक ६३ जिल्लामा निर्वाचन अधिकृत खटाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले रौतहट जिल्लाको क्रियाशील सदस्यताको विवाद भने मिलाउन बाँकी छ । रसुवाको भने क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर प्रतिनिधि खटाइएको छ ।

अब निर्वाचन अधिकृतले पार्टीको जिल्ला समिति र निर्वाचन समितिसँगको समन्वयमा जिल्ला अधिवेशनसम्मको काम पूरा गर्ने जानकारी निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिनुभयो । १४औँ महाधिवेशनअन्तर्गत हालसम्म विभिन्न १३ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । पार्टीको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ ।

जिल्ला अधिवेशन मङ्सिर १० गते तोकिएको छ । यसैबीच, काँग्रेसको १४औँ महाधिवेशनमा परम्परागत शैलीकै मतदान गरिने भएको छ ।

महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ (विद्युतीय मतदान)को तयारीबारे अहिलेसम्म खासै तयारी तथा छलफल नभएकाले परम्परागत हिसाबले नै मतदान गरिने भएको हो । याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV