२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले मुलुकमा विद्यमान बेथिति र विसंगतिविरुद्धमा कात्तिक २६ गते काठमाडौंको माईतीघरमा विशाल जनप्रदर्शन आयोजना गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले सर्वाेच्च अदालतभित्र भइरहेको विवादलाई लिएर आगामी कात्तिक २६ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेको हो ।

प्रदर्शनमा सहभागी पनि मोर्चाले आम नागरिकलाई अपिल गरेको छ ।
मोर्चाले जनताको राजकीय सत्ता र सम्प्रभुसत्ताको प्रत्याभूति जनताले सरकार बनाउन नपाउने ? भन्दै प्रश्न उठाएको छ ।

मोर्चाका अध्यक्ष तारानाथ लुईटेलद्वारा जारी विज्ञप्तीमा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले राष्ट्रपति, संसद् र निर्वाचन आयोगको सम्पूर्ण अधिकार अदालतले प्रयोग गरेको पनि उल्लेख छ ।

प्रधानन्यायाधीशले राखेको बेन्च न्यायाधीशहरुले बहिष्कार गर्नु गलत भएको र यसबाट जनता ठूलो अन्यायमा परेको मोर्चाको भनाई छ । मोर्चाले नेपालको संविधान जारी गर्दा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा जनताको अभिमत नलिईएको र संविधानले देशको संस्कार, संस्कृति र धर्म–परम्परालाई आत्मसात् नगरेको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रिय जनमोर्चाकाअध्यक्ष तारानाथ लुँईटेलले देशमा आज यो अवस्था आउनुको कारण आयातित गणतन्त्र नै मुख्य कारण भएको टिप्पणी गरेका छन् । उनले भने, ‘विदेशीहरुले बोकाइदिएको भारीले देशमा आज यो अवस्था आयो । परमादेशबाट सरकार बनाउनुपर्ने अवस्था आएको छ । यसको जड १२ वुँदे सम्झौता हो । जबसम्म यो खारेज हुँदैन् यो राज्य टाँट पल्टिएर जान्छ ।’

उनले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्यो भने सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने तर्क गरे । उनले अब पार्टीको झण्डा नभएर राष्ट्रको भण्डा बोकेर सडकमा आउन पनि आम जनतालाई आग्रह गरे । उनले भने, ‘राजालाई राजदरबारमा पुर्याउने काम यीनै दलहरुले नै गर्नुपर्छ ।’

मोर्चाका सह–अध्यक्ष तथा प्रवत्ता वरिष्ठ अधिवत्ता विष्णु भट्टराईले नेपाली जनताले न्याय पाउनुपर्छ भनेर आफूहरुले आवाज उठाएको सुनाए । उनले सत्तापक्षीय गठबन्धनले सरकारलाई सघाउन भन्दै हिजो गठन गरेको राजनीतिक समन्वय समितिको पनि विरोध गरे ।

संयुक्त राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष शेखरजगं रायमाझीले ०६२÷६३ मा राजा र राजनीतिक दलहरुको बीचमा भएको सहमतिलाई धोका दिएर विदेशीहरुको परिचालनमा नेपालका दलहरु चलेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV