२३ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाएका मृतक परिवारलाई राहत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको जानकारी दिए ।

सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय गरेको हो । त्यस्तै प्रवक्ता कार्कीका अनुसार बैठकले बेमौसमी वर्षापछिको बाढी र ढुबानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई पनि स्वीकृत गरेको छ ।

त्यस्तै कुश्मामा ४०० केभि सवस्टेशन र जुम्ला सवस्टेशनका लागि जग्गा प्राप्तीका लागि स्वीकृत दिने निर्णय पनि गरेको छ, भने कीर्तिपुर नगरपालीका र चीनको एक शहरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि अनुमति दिने निर्णय पनि बैठकले गरेको प्रवक्त कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम बिभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणिमा नियुक्त गर्न स्वीकृत दिने र जेनेभामा हुने स्वास्थ्य सम्बन्धी सम्मेलनमा भाग लिन स्वीकृती प्रदान गर्ने निर्णय भएको उनले बताए ।

उनले सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिन सरकार प्रतिवद्ध रहेको र बालबालिकाका लागि पनि छिटै खोप उपलव्ध गराउने जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV