२३ कार्तिक २०७८, मंगलवार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा)। तराईबासीको महान पर्व छठ पर्व सोमबारदेखि विधिवत रुपमा शुरु भइसकेको छ । बजारमा पनि चहलपहल पनि अत्याधिक बढेको छ । बजारमा अहिले पर्वका लागि चाहिने फलफुलदेखि किराना सामान पनि किन्नेहरुको व्यापक भीड बढेको छ ।

वीरगन्ज बजारमा चारैतिर पर्वमा चाहिने सामानहरु किन्ने तथा विक्री गर्नेहरुको घुइँचो लागेको छ । छठ पर्वका लागि चाहिने काँचो आदि, काँचो केरा, पाकेको केरा, स्याउ, सुन्तला लगायत हरियो सामानहरु किन्नेको बजारमा घुइँचो लागेको छ । वीरगन्जको माइस्थान, नगवा, घडिअर्वा, रानीघाट, मुर्ली, राधेमाई, श्रीपुर, छपकैया लगायतका स्थानहरुमा अहिले छठ पर्वको लागि नै विशेष बजारहरु लाग्ने गरेको छ र यसको रौनक अहिले तराईका जिल्लाहरु नै बढेको छ ।

पूर्ण रुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन मंगलबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी र केरा राखी मौन पूजा गर्ने तयारी छ । स्थानीयले यसलाई खरना भन्छन् । मधेसतिर यो पर्वकै प्रयोजनको लागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पूजा सम्पन्न भएपछि व्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन्।

लोक आस्थाको यो पर्वको तेस्रो दिन बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमशः चर्चित मिष्ठान ठेकुवा, पुरी एवं भुसुवा बनाउँछन् । यो पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालु लगायत सबैले व्यग्र प्रतीक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् । मुख्यतः घरका पुरुष सदस्य यतिखेर घाट सिंगार्न एवं बजारबाट ताजा फलफुल र तरकारी ल्याउनमा व्यस्त हुन्छन् ।

प्रसाद एवं पुजन सामग्री तयार भएपछि घरको आँगनलाई अपराह्न लिपपोत गरी एवं जल छर्केर चोख्याइन्छ । नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, भुसुवा, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवं तरकारी राखिन्छ । घरमै एकपटक पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकीमा राखेर बाँधी माथितिर एउटा दियो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवं अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार (घाट) तिर लाग्छन्।

पूर्व निर्धारित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुनः फिजाएर राखिन्छ । नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ । त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिन्छन् । सहयोगी एवं परिवारजनले उनको हातमा पालैपालो नांग्लो सहितको पुजन सामग्री राख्दै त्यस माथिबाट दूध र जलको अर्घय दिन्छन् । यो विधिको समापनपछि कतिपय ब्रतालु एवं परिवारजन घाटमै बस्छन् भने कतिपय घर फर्कन्छन्। यसलाई सझिया (साँझको ) घाट वा सझिया अर्घय भनिन्छ ।

चौंथो तथा अन्तिम दिन (यसपालि बिहीबार) बिहान ब्रतालु सहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन् । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित अर्घय दिएपछि यो महापर्वको समापन हुन्छ । यसलाई भोरका घाट वा भोरका अर्घय भनिन्छ । साँझ र बिहानको यो पुजा हेर्न, अर्घय दिन तथा प्रसाद लिनलाई सबै जाती, धर्म, दल, वर्ग एवं समुदायकाको घाटमा भव्य उपस्थित हुन्छ । ३६ घण्टे निर्जल उपवासपछि घर फर्कि ब्रतालुले सादा भोजन ग्रहण गरेर उपवास तोडछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV